म सधैँ श्रमजीवी पत्रकारको पक्षमा उभिन्छु : मन्त्री जम्मकट्टेल

राष्ट्रिय समाचार समिति

चुरियामाई, ३० साउन : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको बताउनुभएको छ । सञ्चार रजिष्ट्रार कार्यालयले आज हेटौँडामा आयोजना गरेको पत्रकारका लागि सिएमआइएस सफ्टवेयर सञ्चालन र आवेदन प्रक्रियाबारे छलफल कार्यक्रममा उहाँले रजिष्ट्रारले प्रदान गर्ने प्रेस पास हालसम्म स्वतन्त्र पत्रकारलाई मात्र प्रदान गरेको बताउनुभयो ।

अब प्रदेशको सबै जिल्ला जिल्लामा यस सफ्टवेयरबारे जानकारी दिँदै सहजता प्रदान गरिने उहाँको भनाइ छ । मन्त्री जम्मकट्टेलले भन्नुभयो, “हामी अझ सहज होस् भनी पत्रकारलाई क्षमता वृद्धि गर्न र हकहितमा लाग्न तत्पर छौँ ।” मन्त्री जम्मकट्टेलले सङ्घीय सरकार संविधानविरुद्ध लागिरहेको आरोप लगाउनुभयो । संसद्मा पेश भएको यातायात प्रणालीको विषयमा बनेको विधेयकप्रति आफू असन्तुष्ट रहेको समेत उहाँको भनाइ छ ।

कार्यक्रममा प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले ज्येष्ठ पत्रकारहरुलाई पेन्सनको व्यवस्था गरी कार्यक्रमको योजना तयार हुँदै गरेको बताउनुभयो । सञ्चार रजिष्ट्रार कार्यालयले अबका दिन ज्येष्ठलाई पेन्सन, महिलालाई क्षमता अभिवृद्धि गर्ने काम शुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँले विपद्को समयमा समाचार सङ्कलन गर्न जाँदा पत्रकारलाई ब्यागसहित ल्यापटप, आधारभूत आवश्यक पर्ने सामान पत्रकार महासङ्घमार्फत उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

शुरुआतमा ६ जिल्लाबाट शुरु गरी १३ वटै जिल्लामा सो काम गरिने सापकोटाको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरि हुमागाईंलगायत जिल्लामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।रासस

प्रतिक्रिया