यति उपद्रो गर्दा पनि सम्झाइ-बुझाइ गरिरहेको छु, गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिइन्छ : प्रधानमन्त्री

admin

काठमाडौं, ९ बैशाख : नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पूरा भएको छ । ७२ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरी सम्झाइ-बुझाइ गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताए ।

‘यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म हाम्रो प्रयास कारबाही नगरी सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस् भन्ने छ,’ उनले भने । बुधबार साँझ ओली र नेपालबीच करिब दुई घण्टा वार्ता भएको थियो । उक्त भेटवार्तालाई लक्षित गर्दै ओलीले नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए ।

व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता दिन नसकिने ओलीको भनाइ छ । नेपालको लोकतान्त्रिक र संसदीय इतिहासमा नेपाल पक्षबाट अराजक काम भएको आरोप पनि उनले लगाए । उक्त कार्यक्रमामा बोल्दै प्रधानमन्त्री ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने पनि बताएका छन् ।

नेताहरूलाई सम्झाउने रबुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिए । ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए । पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न खनाल समूहलाई आग्रह गरे ।

पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला-एक्लै छलफल गर्दै आएका छन् । (हिजो) बुधबार उनले माधवकुमार नेपाल र खनाल-नेपाल समूहका अर्का नेता योगेश भट्टराईसँग छलफल गरेका थिए । यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीबार नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् ।

बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।

नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायत नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ थिए । २०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले चार सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक रूपमा विभाजन भएको थियो ।

२०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित प्रतिक्षमा बसेको थियो । त्यसबेला तत्कालीन जनमोर्चा र अहिलेको माओवादीले नौ सिट जितेर तेस्रो दल बनेको थियो । नेपालका कम्युनिस्ट पार्टीहरू धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । २०७४ सालको चुनावमा गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि अहिले फेरि अलग पार्टी बनेको छ ।

सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा पुर्‍याइदिएको अहिले सत्तारुढ एमाले पनि फुटको सङ्घारमा पुगेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहले छुट्टाछुट्टै छलफल र कार्यक्रमहरू गर्दै आइरहेका छन् । यसले कार्यकर्तामा भने निराशा छाएको छ । कार्यकर्ताहरु टुटफुटमा नभइ एकीकृत बन्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया