यतीलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा : वायुसेवा निगम डुबाउने खेल, निर्देशिका नै फेरियो

admin

काठमाडाैं, १० असाेज : सरकारले कानुन नै संशोधन गरेर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी यती समूहलाई दिएको छ । हिमालय एअरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको विशेष सुविधा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को डेढ अर्ब आम्दानी गुम्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रीस्तरीय निर्णयबाट नेपाल एअरलाइन्सको बिजनेस खोस्दै निजी विमान कम्पनी हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिइएको हो । यो निर्णय नागरिक उड्डयन प्राधिकरणको अध्यक्षसमेत रहेका पर्यटनमन्त्री भट्टराईले असोज ४ गते गरेका हुन् ।

यती समूहको मुख्य सेयर सदस्य रहेको हिमालय एअरलाइन्सलाई लाभ पुग्नेगरी वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ संशोधन गरिएको थियो । यस कार्यमा पर्यटनमन्त्री भट्टराईको पनि मिलेमतो थियो । त्यही संशोधित निर्देशिकामा टेक्दै उनले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिएका हुन् ।

सरकारले हिमालय एअरलाइन्सका सञ्चालक विजयबहादुर श्रेष्ठलाई संविधान दिवसको उपलक्ष्यमा प्रबल जनसेवाश्री (चौथो) पदकबाट विभूषित गर्ने घोषणा गरेको थियो । त्यसको एक साता नपुग्दै हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति दिएर फेरि पुरस्कृत गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले निर्देशिकामा एक सातामा कम्तीमा ३५ पटक नियमित उडान सञ्चालन गर्न अनुमति पाएको वायुसेवा वा वायुयान सञ्चालकले अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने वायुयानको सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न सक्ने व्यवस्था राख्दै नेपाल एअरलाइन्सबाहेक अन्य विमान कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङको सुविधा दिने बाटो खुला गरेको थियो ।

निर्देशिकाको दफा ४ मा नियमित उडान गर्ने वायुसेवा वा वायुयान सञ्चालकले अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने आफ्नो वायुयानको भूमिीस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा विमानस्थलमा आफैंले सञ्चालन (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्न चाहेमा प्राधिकरणको अनुमति लिनुपर्ने उल्लेख छ ।

प्राधिकरणले सेटिङमा हिमालय एअरलाइन्सलाई सातामा ३५ वटा भन्दा बढी उडान गर्न लगाएर ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको प्राधिकरणकै कर्मचारीको आरोप छ ।

उनीहरूले नेपाल एअरलाइन्सको दैनिक साढे तीनदेखि चार लाख रुपैयाँ आम्दानी गुम्नेगरी ल्यान्डिङ पार्किङको साढे १० करोड ६४ लाख बक्यौता तिर्न बाँकी रहेको हिमालयलाई मन्त्रीस्तरीय निर्णयबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको भन्दै विरोध गरेका छन् ।

यो हिसाबले नेपाल एअरलाइन्सले वार्षिक झन्डै डेढ अर्ब आम्दानी गुमाउने निगमका उच्च अधिकारीहरू बताउँछन् । सुनिल सापकाेटाले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया