यसरी छनोट गर्नुहोस भ्यालेन्टाइन्स डेमा राशिअनुसार उपहार

रिता घिसिंग

ऋतुराज वसन्तको आगमनसँगै वातावरणमा वसन्त बहारको प्रदुर्भावले प्रत्येक व्यक्तिको मन झङ्कृत भइरहेको छ , त्यसैले पनि होला वसन्त ऋतु र प्रेम दिवसको अनोन्याश्रित सम्बन्ध भएको । फक्रँदै गरेको प्रकृतिको यो मोहकपनले प्रत्येक व्यक्तिमा प्रेमिल भावनालाई अंकुरण गरेको छ । यो प्रेमको भावना वा प्रेम सम्बन्धलाई अझै प्रगाढ बनाउन वा सुनमा सुगन्ध थप्न आउनुहोस् पौराणिक शास्त्रको माध्यमबाट आफ्नो प्रेमी–प्रेमिकाको स्वभाव बुझौँ । उपहार दिँदा राशिअनुसारको रङ छनोट गरौँ, जसले तपाईंंको प्रेम दिवस अझै रंगिन बनोस् ।

मेष : मेष राशि भएका व्यक्तिहरू प्रेमका लागि सधैँ व्यग्र हुन्छन् र प्रेम प्रदर्शन गर्दा अलि उग्र पनि । उनीहरूलाई आफ्नो भावना व्यक्त गर्न नपाउँदा सारै पीडा हुन्छ । मेष राशिवाला व्यक्तिमा पहिलो नजरमै प्रेम उत्पन्न हुन्छ, तर त्यो प्रेमको भावना क्षणिकका लागि मात्र रहन सक्छ । कामुक स्वभाव भएका कारण शारीरिक सम्बन्ध राख्नमा उनीहरूको विशेष चासो हुन्छ साथै, सम्बन्धमा काफी स्वतन्त्रता चाहन्छन् । मेष राशि हुनेहरूको सिंह र धनु राशि भएका व्यक्तिसंँगको सम्बन्ध लामो समयसम्म टिकाउ रहने देखिन्छ भने मिथुन, तुला र कुम्भ राशि भएकासँग ठीकै खालको मित्रता रहन्छ । मेष राशि भएको व्यक्तिलाई उपहारमा रातो रङका केही गिफ्ट दिँदा सम्बन्ध गहिरो हुन्छ ।

 

वृष : वृष राशिको स्वामी ग्रह शुक्र हो, जुन ग्रहलाई प्रेम र शारीरिक सुखको कारक ग्रह पनि मानिन्छ । वृष राशिमा आउँदा चन्द्रमा पनि उच्च हुन्छ जसलाई ज्योतिषमा मनको स्वामीका रूपमा विष्लेषण गरिन्छ, त्यसैले पनि वृष राशिलाई प्रेमिल राशि भन्दा फरक नपर्ला । वृष राशि हुनेहरूको शृंगार तथा सौन्दर्यतासँग अद्भूत लगाव हुन्छ । यिनीहरू प्रेमको मामलामा दिमागको भन्दा दिलको आवाज सुन्ने गर्छन् र प्रेमको अन्तिम बिन्दु प्राप्तिलाई ठान्ने गर्छन् । वृष राशि हुनेहरूको सम्बन्ध कन्या र मकर राशि हुनेसँग राम्रो हुने देखिन्छ । यी राशि भएकालाई प्रपोज गर्दा वा उपहार दिँदा सेतो वा सिल्क रङको वस्तुले सम्बन्धमा प्र्रगाढता आउँछ ।

 

मिथुन : मिथुन राशिको चिह्नमै स्त्री–पुरुषको मिलन दर्शाइएको पाइन्छ । त्यसैले आफ्नो निकटमा रहेको विपरीत लिंगीलाई आर्कषित गर्ने यिनीहरूको अनौठो कला हुन्छ । तर, द्विस्वभाव प्रकृतिको राशि भएका कारण कतिपय अवस्थामा एउटा सम्बन्धबाट तृप्त नभएर एकसाथ अन्य सम्बन्धमा पनि जोडिन सक्छन् । मिथुन राशि हुनेहरूको तुला र कुम्भ राशिवालासँग प्रगाढ सम्बन्ध हुन सक्छ भने धनु, मेष र सिंहसँग मध्यम खालको सम्बन्ध रहन्छ । यदि तपाईंंको भ्यालेन्टाइन मिथुन राशिको हुनुहुन्छ भने हरियो रङको वस्तु उपहारमा दिँदा राम्रो हुन्छ ।

 

कर्कट : कर्कट राशिको स्वामी ग्रह चन्द्रमा हो र ज्योतिषमा चन्द्रमालाई मनको कारक मानिन्छ । त्यसैले कर्कट राशिवाला व्यक्ति सदैव दिलबाट नै प्रेम गर्ने गर्छन् । यिनीहरू आफ््नो पार्टनरलाई खुसी बनाउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहन्छन् । अतिसंवेदनशील र मनमौजी व्यवहारका कारण यिनीहरूको पार्टनर परेसान हुन सक्छ । अतः यदि तपाईं कर्कट राशिवालासँग प्रेममा हुनुहुन्छ भने खुसी बनाउने एक मात्र सूत्र भनेको यिनीहरूको कुरा ध्यानपूर्वक सुन्नु हो । कर्कट राशि हुनेहरूले वृश्चिक र मीन राशिसँग सम्बन्ध राख्दा राम्रो हुन्छ । कर्कट राशिवाला व्यक्तिसँग तपाईं सम्बन्ध बनाउन चाहनुहुन्छ भने सेतो तथा चम्किलो रङको वस्तु उपहारमा दिनु राम्रो हुन्छ ।

 

सिंह : सिंह राशि, राशि चक्रमा एकदमै शक्तिशाली मानिन्छ । जसको स्वामी सूर्य हो र सूर्य ज्योतिषमा अधिकारको कारक ग्रह पनि हो । यसर्थ सिंह राशिवाला व्यक्ति सम्बन्धमा दोस्रो व्यक्तिमा आफ्नो सम्पूर्ण हक जमाउन चाहन्छन् र कसैले प्रेममा घात गरे ठूलै दुस्मनी उठाउन पनि पछि पर्दैनन् । यिनीहरू स्वतन्त्रपूर्वक वा खुलमखुला प्रेम गर्न चाहन्छन् र प्रेमी वा प्रेमिकालाई पूर्ण रूपमा प्रेमको आभास दिलाउन पनि सक्छन् ।सिंह राशि हुनेहरूले मेष र धनु राशिवालासँग सम्बन्ध राख्दा राम्रो हुन्छ । यो राशिवालालाई गुलाबी रङको गिफ्ट दिँदा प्रेममा सामञ्जस्यता कायम राख्न मद्दत गर्छ ।

 

कन्या : कन्या राशि हुनेहरू हरेक कुरामा परफेक्सन चाहन्छन् । त्यसैले पार्टनर पनि परफेक्ट होस् भन्ने उनीहरूको अपेक्षा हुन्छ । यो राशि हुनेहरू दोस्रो व्यक्तिको बाहिरी रूप र सौन्दर्यले भन्दा सोच र ज्ञानको गहिराइले आकर्षित हुने गर्छन् । यस राशि स्वामी बुध बुद्धिमता र समझदारीको कारक भएकाले पार्टनर पनि आफूजस्तै होस् भन्ने चाहन्छन् । कन्या राशिले वृष र मकर राशिसँग सम्बन्ध राख्दा फलदायक हुन्छ । कन्या राशिवाला प्रेमी वा प्रेमिकालाई गिफ्ट दिँदा मरुन रङको प्रयोग गर्दा सम्बन्धमा मजबुती आउँछ ।

 

तुला : तुला राशि हुनेहरू सिंगलभन्दा रिलेसनमै बस्न रुचाउँछन् । आकर्षक रूप र शारीरिक बनावटका धनी तुला राशिवालाहरू रोमान्समा काफी सोख राख्दछन् । सम्बन्ध बन्नु र टुट्नु यिनीहरूका लागि सामान्य हुन्छ । यसैकारण कतिपटक राम्रो सम्बन्धबाट पनि हात धुनुपर्ने हुन्छ । यो राशिवालाको मनमा के चलिरहेछ भन्ने कुरा उनीहरूको नजिकको व्यक्तिले पनि बुझ्न सक्दैन । तुला राशि हुनेहरूको सम्बन्ध मिथुन र कुम्भसँग राम्रो हुन्छ ।तुला राशि भएको प्रेमी वा प्रेमिकालाई सिल्भर ग्रे कलरको वस्तु उपहार दिँदा समर्पण भाव आउँछ ।

 

वृश्चिक : वृश्चिक राशि हुनेहरू द्वैध चरित्र राख्छन् । त्यसैले यिनीहरूलाई बुझ्न कठिन हुन्छ । यिनीहरू भावपूर्ण, जोशपूर्ण तथा हरदम उत्साहित रहन्छन् र आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध बनाउन चाहन्छन् । यो राशि प्रेम तथा वासना प्रतिनिधित्व गर्ने राशि भएका कारण यस राशिवालाका लागि प्रेममा यौन अनिवार्य हुन्छ । वृश्चिक राशि हुनेहरूको कर्कट, कन्या, वृष र मकर राशि हुनेहरूसँग राम्रो सम्बन्ध स्थापित हुन सक्छ ।

यो राशि भएका व्यक्तिलाई गहिरो रातो रङको वस्तु प्रयोग गर्दा भावनाको कदर हुनेछ ।

 

धनु : धनु राशिको स्वामी गुरु ग्रह भएकाले यो राशिवाला व्यक्ति बुद्धिमान्, निष्ठावान् र इमानदार हुन्छन् । इगो तथा ईष्र्या प्रशस्त भएका कारण पे्रमका मामिलामा यिनीहरूलाई अजीवको बेचैनी वा अशान्ति हुन्छ । यो राशिवाला व्यक्ति आफ्नो पार्टनरका लागि प्रत्येक दिन केही नयाँ गर्न चाहन्छन् र आफू पनि त्यही अपेक्षा गर्दछन् । यिनीहरूको एउटै इच्छा आफ्नो पार्टनरले आफूलाई सम्मान गरोस् र समय–समयमा प्रेम व्यक्त गरिरहोस् भन्ने हुन्छ ।धनु राशि हुनेहरूको मेष र सिंह राशिसँग राम्रो सम्बन्ध रहन्छ । धनु राशिवालालाई प्रपोज गर्दा वा गिफ्ट दिँदा पहेँलो वा गोल्डेन कलरको वस्तु प्रयोग गर्दा आपसी सद्भाव तथा प्रेम कायम रहन्छ ।

 

मकर : मकर राशिवाला व्यक्तिहरू धेरै नै भावुक हुन्छन् । यसर्थ एकपटक प्रेम भयो भने भुल्नुपर्दा वा छाड्नुपर्दा मुस्किल हुन्छ । यिनीहरू सम्बन्धमा प्रतिबद्ध हुन्छन् र पार्टनरबाट पनि आत्मीय प्रेमको अपेक्षा गर्दछन् । यिनीहरूको भावुकताको मानिसले गलत फाइदा उठाउन सक्छन्, किनकि भावुकतामा यिनीहरू सबैथोक गुमाउन पनि तयार हुन्छन् । सम्बन्धमा यिनीहरू काफी इमानदार रहन्छन् । साथै सम्बन्धलाई जीवन्तता दिन चाहन्छन् ।

मकर राशि हुनेहरूको मीन राशिवालाहरूसँग राम्रो सम्बन्ध रहन्छ । यो राशि हुनेहरूलाई नीलो वा स्काई ब्लु कलरको उपहार दियो भने प्रेम प्रगाढ हुनेछ। 

 

कुम्भ : ज्योतिषशास्त्रअनुसार यो राशिका मानिस काफी भावुक र हरेक कार्य मनदेखि नै गर्नेखालका तथा थोरै मुडी हुन्छन् । यिनीहरूलाई रिस कमै उठ्छ, तर रिसाएपछि संयमित हुन समय लाग्छ, यसले गर्दा कहिलेकाहीँ सम्बन्धमा बाधा उत्पन्न हुन सक्छ ।

कुम्भ राशि हुनेहरूको सम्बन्ध मिथुन र तुलासँग सुखद् हुनेछ । यो राशिवालालाई गिफ्ट दिँदा नीलो कलरको वस्तु प्रयोग गर्दा आपसी प्रेम वा सौहाद्रता कायम रहन्छ ।

 

मीन : मीन राशिवाला व्यक्ति संवेदनशील, लजालु तथा काफी प्रेमी स्वभावका हुन्छन् । यिनीहरूलाई यस्तो साथीको आवश्यकता हुन्छ कि जसले हरदम प्रेरित गरिरहोस् वा साथ देओस् । यिनीहरू छिट्टै नै विपरीत लिंगीसँग आकर्षित हुन्छन् र गहिरो प्रेममा पर्न सक्छन् । यिनीहरू अटुट सम्बन्ध स्थापित गर्न चाहन्छन्, तर चाहँदाचाहँदै पनि कतिपय अवस्थामा विछोडको पीडाबाट गुज्रनुपर्ने हुन्छ । समग्रमा भन्दा मीन राशिवालाको लभ लाइफ सामान्य रहन्छ । मीन राशि हुने व्यक्तिको कर्कट र वृष राशिवालासँग राम्रो सम्बन्ध हुन्छ ।

यो राशिवाला प्रेमी वा प्रेमिकालाई गोल्डेन वा पहेँलो रङको उपहार दिँदा आपसी प्रेम तथा समझदारी बढेर जानेछ ।

प्रेम/वैवाहिक सफलताका लागि ज्योतिषीय उपाय :

१. प्रेम/विवाहमा सफलताका लागि कुनै महिनाको शुक्ल पक्षमा प्राणप्रतिष्ठित गौरी–शंकर रुद्राक्ष, चाँदीमा धारण गर्नु लाभदायक हुन्छ ।

२. ज्योतिषीको सल्लाहअनुसार ओपल वा हीरा रत्न धारण गर्नाले पनि प्रेम÷वैवाहिक सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्छ ।

३. यदि पञ्चम वा सप्तम भाव दूषित छ भने त्यसको ज्योतिषीय उपचार गर्ने ।

४. प्रेमीप्रेमिका वा दम्पतीबीच उपहार आदानप्रदान गर्दा गाढा नीलो वा कालो रङको वस्तु प्रयोग नगर्ने । यसको साटो रातो, गुलाबी, पहेँलो वा गोल्डेन रङका वस्तु प्रयोग गर्ने ।

५. स्त्रीले नाडीमा हरियो चुरा साथै बिहीबार पहेँलो तथा शुक्रबार सेतो वस्त्र धारण गर्ने ।

६. आर्कषण तथा अट्याचमेन्टका लागि बीज मन्त्र जप गर्ने 

मन्त्र– ॐ क्लीं नमः । गज्जबबाट

म/रोमान्सका लागि वास्तु टिप्स

वैवाहिक/प्रेम जीवन आत्मिक तथा सुखद बनाउन वास्तु दिशा–निर्देशनको पालना गरेको खण्डमा राम्रो सफलता मिल्छ । 

 

ती नियमहरू यस्ता छन्ः

१. विवाहित जोडीका लागि शयनकक्ष दक्षिण वा दक्षिण–पश्चिममा हुनु उपयुक्त हुन्छ, यसले सम्बन्धलाई स्थायी बनाउन मद्दत गर्छ ।

२. दक्षिण–पूर्व दिशामा अग्नि तत्वको प्रधानता हुने हुँदा, यसले यौन सम्बन्धलाई उत्तेजक बनाउनुका साथै जोडीका बीचमा सामान्य झगडाको वातावरण बनिरहन सक्छ ।

३. नवविवाहित दम्पतीले शयनकक्ष उत्तर–पश्चिम दिशामा बनाउनु उपयुक्त मानिन्छ । किनकि यो दिशामा वायु तत्वको प्रधानता हुने हुँदा नवयुगल जोडीको काम ब्यालेन्स गर्न मद्दत गर्नुका साथै सम्बन्धलाई सुखमय बनाउँछ । तर, यो दिशालाई लामो समयसम्म शयनकक्षका रूपमा प्रयोग गर्नुहुँदैन किनकि वायु तत्व हाबी हुनाले सम्बन्धमा अस्थिरता पैदा गर्न सक्छ ।

४. शयनकक्षलाई गुलाबी वा हल्का हरियो रङले पेन्ट गर्नुका साथै सधैँ सफा, सुगन्धित तथा आर्कषक राख्नुपर्छ । यो कक्षमा आफ्नो व्यापार, अफिसँग सम्बन्धित कुनै पनि वस्तु राख्नुहुँदैन यसले तपाईंको एकाग्रता भंग गर्न सक्छ ।

५. बेडलाई ढोकाको सीधा पर्नेगरी नराख्ने, तर बेडबाट ढोका देखिनेगरी राखिनुपर्छ । डबल बेडका लागि पनि सिंगल गद्दा नै प्रयोग गर्ने, किनकि डबल गद्दाले कुनै वेला दम्पतीबीच दूरी बढाउन सक्छ ।

६. शयनकक्षमा ठूलो ऐना राख्नु उपयुक्त मानिँदैन । खासगरी बेडको सामुन्ने ।

७. शयनकक्षमा पूजास्थल बनाउनुहुँदैन । बाध्यात्मक परिस्थितिमा भने पार्टेसन गरेर राख्ने गर्नुपर्छ ।

८. शयनकक्षमा देवी–देवता तथा मृतक परिवारजनको फोटो कहिल्यै नराख्ने । प्रेम वा रोमान्सलाई अभिव्यक्त गर्ने चित्र तथा बास्नादार फूलहरू राख्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू