यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

admin

काठमाडौं, ३० वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् ।

नयाँ सरकारका लागि बहुमत पु-याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु-याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ ।

प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु-याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु-याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको ‘रणनीति’ वरिपरि राजनीति घुमिरहेको छ । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहको समर्थन छ ।

प्रतिनिधिसभामा गत सोमबार भएको विश्वासको मतदानमा ओलीको विपक्षमा १ सय २४ मत खसे । कांग्रेस ६१, माओवादी केन्द्र ४८ र जसपाको बाबुराम–उपेन्द्र पक्षका १५ सांसदले ओली विपक्षमा मत दिए । प्राप्त मतअनुसार कांग्रेस–माओवादीलगायत दललाई सरकार बनाउन अझै दर्जन सांसद आवश्यकता पर्छ ।

मतदानमा जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद ओलीको पक्ष र विपक्षमा मत नदिई तटस्थ बसे । ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेकाले उनी पक्षधर सांसदले माओवादी र कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन नगर्ने देखिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया