यस्तो कम्पनी जहाँ साङ्लाको जुस बनाउन एक वर्षमा ६ सय करोड साङ्ला उत्पादन गरिन्छ !

मनिषा थापा

एजेन्सी  :  वैज्ञानिक वर्गीकरण अनुसार आर्थ्रोपोडा वर्गमा पर्ने कीरा हो । यो आर्थ्रोपोडा वर्गको ब्लाटारिया वा ब्लाटोडियामा पर्ने कीरा हो । घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । साङ्ला मार्नको लागि खर्च गरेर विभिन्न विषादीहरुको प्रयोग गर्छौं तर चीनमा भने मानिसहरुका लागि यहीँ साङ्ला कमाइको माध्यम बनिरहेको छ ।

औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ । चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ । अब चाहीँ चीनमा साङ्लाको ठूलो परिमाणमा उत्पादन गरिँदैछ । चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ । साउथ चाइना मर्निङ पोस्टका अनुसार एक भवनमा साङ्ला पालन गरिएको छ । उक्त भवनको क्षेत्रफल झण्डै दुईवटा खेल मैदान जत्तिकै छ ।

दराजका पातला घर्राहरुमा साङ्ला पालन गरिन्छ । साङ्लाका लागि खाना तथा पानीको जोहो पनि गर्नुपर्दछ ।साङ्लाका लागि अँध्यारो वातावरण र उचित आद्रता पनि उपलब्ध गराइएको हुन्छ र प्रजननका लागि पर्याप्त ठाउँ पनि रहेको हुन्छ । साङ्लाहरु घरबाहिर निस्कन पाउँदैनन् । यसरी पालन गरिएका साङ्लाहरु वयस्क भएसँगै संकलन गरी पिँधेर लेदो बनाइन्छ । यसरी सांग्लाको जुस तयार गरिन्छ र परम्परागत औषधिको रुपमा बिक्रि गरिन्छ ।

पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । चिनियाँ विज्ञका अनुसार साङ्लाको जुस वास्तवमा चमत्कारी औषधिको रुपमा काम गर्दछ । यसले अनेक खालका रोग निको पार्दछ । चीनमा बुढापाकाहरुको जनसंख्या बढिरहेको छ र त्योसँगै मानिसमा स्वास्थ्य समस्या पनि बढ्दैछन् । यस्तोमा सस्तो तथा स्थानीय रुपमा उत्पादित औषधिको माग उच्च छ । सोही कारण साङ्लाको जुस निकै लोकप्रिय बनिरहेको छ । औषधिका लागि साङ्लाको पालन गर्ने काम सरकारी योजनाको एउटा हिस्सा पनि हो । साङ्लाको जुसको औषधिलाई अस्पतालहरुले पनि प्रयोगमा ल्याएका छन् ।

तर कतिपय विज्ञ चाहीँ साङ्लाको जुस मानिसका विभिन्न खाले रोगको उपचारमा रामवाण रहेको भन्नु सत्य नभएको बताउँछन् । उनीहरुका अनुसार बन्द ठाउँमा ठूलो परिमाणमा यसरी साङ्ला पाल्नु तथा साङ्लाको पैदावार बढाउनु खतरनाक पनि सावित हुनसक्छ । यदि मानिसको गल्ती वा भूकम्प लगायतका कारण अर्बौंको संख्यामा पालिएका साङ्लाहरु बाहिर खुल्ला वातावरणमा निस्किए भने त्यसले विनाशकारी असर पनि निम्त्याउन सक्दछ ।

प्रतिक्रिया