यस्तो छ ‘जय नेपाल’को सुरुवाती वास्तविकता !

admin

काठमाडौं, ११ असोज : नेपाली कांग्रेस मामिलाका जानकार पुरुषोत्तम बस्नेतका अनुसार गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले ‘जय नेपाल’ भन्ने चलन चलाए भन्ने पनि छ तर, त्यसको आधिकारिक प्रमाण रेकर्ड पाइदैन ।

‘जय नेपाल !’ हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति पेसा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भइरहेको छ । सैनिक, प्रहरीले आफ्नो अभिवादनमा ‘जय नेपाल’ शब्द प्रयोग गरेका छन् ।

यस्तै, राजनीतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नु परे ‘जय नेपाल’ भन्ने चलन छ । अझ भनौँ, कसैले ‘जय नेपाल’ भन्यो भने कि त्यो सेना वा प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ । विदेशमा ‘जय नेपाल’ भनेर सम्बोधन गरेमा त्यो नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ । खासमा यो वाक्य कसरी प्रयोगमा आयो, कसले प्रयोगमा ल्यायो भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।

बस्नेतले भने, ‘नेपालमा राणा शासन छँदा भारतमा अंग्रेजहरुको औपनिवेशिक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर सम्वोधन गर्थे ।’ बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी रहेको उनी सुनाउँछन् ।

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको बुझाई रहेको बस्नेत बताउँछन् । उनले भने, ‘भारत स्वतन्त्र हुने करिब करिब तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरुबीच जय नेपाल भनेर सम्वोधन गर्ने चलन त्यही बेला सुरु भएको हो ।’ उनका अनुसार त्यो बेलासम्म नेपाललाई ‘गोर्खा’ भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्ने चलन रहेको उनले बताए । ‘पछिसम्म पनि त्यो चलन रह्यो,’ उनले भने, ‘हामीभन्दा अघिको पुस्ताले काठमाडौंलाई नेपाल नै भनेको सुनेका हौँ ।’

नेपाली कांग्रेसमा खासगरी बीपीलाई काठमाडौंलाई काठमाडौं र मेचीदेखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनुपर्छ भन्ने लागेर २००७ सालको क्रान्तिदेखि त्यसलाई आन्दोलनकै रुपमा अघि बढाइएको बस्नेत बताउँछन् । उनले भने, ‘मुक्ति सेनाका जवानहरूबीच भेट्दा र छुट्टिँदा जय नेपाल भन्ने चलन सुरु भयो । त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ ।’

२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरु नेपाल प्रहरीमा समाहित भए । प्रहरीको उच्च पद ‘आईजीपी’ पनि भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबी लामा लगायत थिए । त्यसैगरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात ‘जय नेपाल’बाट गर्छ ।

बस्नेतका अनुसार नेपाली कांग्रेसले क्रान्तिको बेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले ‘जय नेपाल’ भनेर प्रसारण सुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रसारण सुरु गर्दा ‘जय नेपाल’ भन्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया