यस्तो छ समृद्ध नेपाल सुखी नेपालीको अभियानमा जुटेका ओली- प्रचण्डको राजनीतिक जीवन

admin

खगेन्द्र हमाल/ काठमाडौँ :  सम्माननिय प्रधानमन्त्री एवंम नेकपाका पार्टी अध्यक्ष केपि शर्मा ओलिको राजनीति जीवन यात्रा। (झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय केपि शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभएको हो)

०२७ सालमा राजनीति सुरु गरेका हुन् । ०७२ सालमा उनी प्रधानमन्त्री बनेका हुन।राजनीतिक परिवर्तनका लागि ०५२ सालमा हतियार उठाएका प्रचण्ड र बाबुराम भट्टराई त्यसको १३ वर्षपछि नै पालैपालो प्रधानमन्त्री बने । तर, ०२७ सालमा राजनीतिमा प्रवेश गरेर झापा आन्दोलनमा हतियार उठाएका केपी ओलीका लागि प्रधानमन्त्री बन्ने अवसर ४६ वर्षपछिमात्रै जुर्‍यो ।

राजनीतिमा धैर्यता र निरन्तरताको कुनै अवधि हुँदैन भन्ने कुरा ओलीको राजनीतिक जीवन एउटा जीवित साक्षी बनेको छ । ओली गरीब परिवारमा हुर्केका हुन् ।युवा संघको संस्थापक अध्यक्ष हुने र झापामा ४ महिना पार्टी सचिव हुनेबाहेक पार्टीभित्र र बाहिर कहिल्यै पनि फस्ट म्यान हुन नपाएका ओलीले एक-डेढ वर्षको बीचमा जीवनका सबै सपना पूरा गरे ।

छैटौँ वाम प्रधानमन्त्री
त्यतिबेला मुलुकको दोस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो ।उहाँ पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियोे।मुलुकको ३८औँ प्रधानमन्त्री र उहाँ छैटौँ वामपन्थी प्रधानमन्त्री पनि हुनुभएको थियोे।पहिलो वाम प्रधानमन्त्री पनि एमालेकै तत्कालीन अध्यक्ष मनमोहन अधिकारी हुनुभएको थियो ।

प्रधानमन्त्री ओलिको वाल्यकाल दुखदमय
२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओलिको सानो उमेरमै आमाको निधन भएको थियो।त्यसपछि उनी ४/५ वर्षको हुँदा उनका पिता मोहनप्रसाद ओलि बालबच्चा लिएर झापाको सुरुङ्गा गाविसमा झरेका थिए।पछि कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरु सुकुम्बासीमा परिणत भए । ओलीलाई केही समय बडाबा र हजुरबाहरुले पाले । किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम गरेर विद्यालय जान थाले ।

उनको दश कक्षासम्मको औपचारिक शिक्षा झापामै भएको थियो ।झापा झरेका र वाल्यकालमै आमाको मातृ वात्सल्यबाट विमुख बनेका ओली रामनाथ दाहालका घरमा बसेर पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने ।

रामनाथ दाहाल ०२९ सालमा सुखानीमा शहीद भए ।गरिवीका कारण अरुको काम गरेर बस्न बस्न बाध्य बनेका ओली ०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् ।

भक्तपुरको बालकोट र झापाको दमकमा घर भएका ओलीले जीवनको उत्तरार्धमा परिवारका सदस्यका लागि पैसा र पदको दायित्व बोक्नुपर्ने स्थिति छैन।सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाइँ सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो ।ओली गृहमन्त्री भएका बेला उनका पिताको घरमा आगलागी भयो । आगलागीपछि सरकारबाट क्षतिपूर्ति पाएको पैसाले उनका पिताले सामान्य बस्न लायकको घर बनाएका थिए।गरीबी अवस्थामा वाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटस्थित अनन्तलिङ्गेश्वरमा घर बनाएर आफ्नो आवासलाई व्यवस्थित गरेका छन।

पार्टी र राजकीय जिम्मेवारी
केपी ओली ०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बने । ०४९ देखि एमालेको स्थायी कमिटी सदस्य निर्वाचित भए ।वि.सं ०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बने ।

नेपालको इतिहासमा ओलीको गृहमन्त्रीको कार्यकाल यस्तो बन्न पुग्यो, जुन ९ महिनाको अवधिमा प्रहरीको गोलीबाट नेपालमा एकजनाको पनि मृत्यु भएन । तत्कालीन प्रहरी आइजीपी मोतीलाल बोहोराले ओलीको सन्दर्भमा भनेका थिए-हाम्रो गृहमन्त्रीज्यूको त मुखैमा सरस्वती ।त्यसैगरी ०५६ सालको आम निर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित भए ।तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ जितेर आएपछि ओलीको निरन्तर बिजय यात्रा अघि बढ्यो ।

ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीका रुपमा राजकीय जिम्मेवारी दुईपटक मात्र सम्हाले र दुबैपटक विवादमा परेनन् । ०५१ मा गृहमन्त्री बनेका ओली २०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने । एउटा कक्षामा एक पटकमात्र जाँच दिनुपर्छ भन्ने मान्यता राख्ने ओली मन्त्रीबाट उपप्रधानमन्त्री बनेपछि उनले अब फेरि मन्त्री नबन्ने बताएका थिए । नभन्दै एकैचोटि प्रधानमन्त्री बनेर उनी सिंहदरबारमा प्रवेश गरेका छन् ।ओलीको शैक्षिक योग्यता सामान्य रहे पनि उनमा बाहिरी ज्ञान उच्च शिक्षा लिनेको भन्दा कम छैन ।

भाषा साहित्यमा उनको दख्खल राम्रो देखिन्छ । संसद सचिवालयको रेडर्कमा ओलीको शैक्षिक योग्यता अनररी पीएचडी लेखिएको छ ।प्रधानमन्त्री ओलीले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस र बेलारुस आदिको भ्रमण गरेका छन् ।

राजनीतिक यात्राक्रम
झापा क्रान्ति भनेपछि नेपाली राजनीतिमा अहिले पनि चर्चित छ । अझ नेपालमा कम्युनिस्ट शासन स्थापनाका लागि हतियार उठाइएको त्यो नेपालको पहिलो सशस्त्र विद्रोह थियो ।झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारवद्ध संघर्ष गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा ओली शान्तिपूर्ण क्रान्तिको पक्षमा थिए ।तर, तत्कालीन पार्टीमा सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरु सशस्त्र विद्रोहको पक्षमा उभिए ।

पार्टीको बहुमत हिस्सा ‘दुश्मनसँग नभिडे, सामन्तीलाई नगिँडे, आउँदैन जनवाद भाषण ठोकेर’ भन्ने गीत गाउँदै अघि बढ्यो ।ओली त्यतिबेला १९ वर्षका थिए । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका ओली त्यसको तीन/चार वर्षपछि नै पञ्चायती शासकको पञ्जामा परे ।तत्कालीन नेकपा माले गठनदेखि ०४६ सम्म आइपुग्दा भएको राजनीतिक उतार-चढावमा ओलीले संगठनात्मक भूमिका खेल्न पाएनन् । किनभने उनी ०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमै थिए । ओलीको उमेरको उर्जाशील समय जेलभित्रै बितेको थियो।जेलबाट छुट्दा ०४६ सालमा ओली निकै दुब्ला पातला देखिन्थे । जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडीभाडा मागेर झापा फर्किएका थिए।

(हिजोको नेकपा एमाले झापा क्रान्तिको मूलधार हो । तर, एमालेमा झापाली क्रान्तिकारीले पार्टीको नेतृत्व सीपी मैनालीको बहिर्गमनपछि गुमाएको थियो, जुन ओलीले फर्काएका हुन)

पहिलोपटक ओलीले प्रधानमन्त्रीमा जित्ने निश्चित भएपछि ओलीका पूर्वकार्यकर्ता समेत रहेका राजनीतिक विश्लेषक झलक सुवेदीले ट्वीटबाटै झापा क्रान्तिले पहिलोपटक न्याय पाएको आशय व्यक्त गर्दै बधाइ दिएका थिए।वास्तवमा झापा क्रान्तिका योद्धाहरु इतिहासको कालखण्डमा तितर-बितर भए । आज सीपी मैनाली सानो पार्टी चलाएर बसेका छन् । मोहनचन्द्र जसलाई नेपालका नेल्सन मण्डेला भनिन्थ्यो, उनी गुमनाम जस्तै छन् ।

राधाकृष्ण मैनाली एमाओवादीको भान्सा चाखेर ओली अध्यक्ष बनेपछि बल्ल एमालेमै फर्किएका थिए। ओलीचाँहि अनेक हण्डर ठक्कर खाएर भए पनि निरन्तर पार्टीमा रहेका नेता हुन।ओलीले पार्टी र संसदीय दल दुवै मोर्चामा जितेपछि ०७२ सालको नयाँ वर्षमा झापा क्रान्तिका जीवित योद्धाहरुको अर्थपूर्ण जमघट आफ्नै निवासमा गराएर यो वर्ष झापाली क्रान्तिको उत्कर्ष हुने संकेत गरिसकेका थिए ।नभन्दै मुलुकको प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि झापा क्रान्तिको राजनीतिको एउटा उत्कर्ष टुंगिएको टिप्पणी झापा क्रान्तिका योद्धाहरुले गरेका छन् ।

‘यो झापा क्रान्तिको उत्कर्षको दिन हो’हाल एमाओवादीमा रहेका भीष्म धिमाल भन्छन् ।मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि संघर्षमा होमिएका ओली ०३० देखि ०४४ सालसम्म १४ वर्ष जेल परे । जेलभित्रैबाट पनि उनी पार्टीको रजनीतिक काममा भने सक्रिय रहे । उनले जेलबाटै चिठीपत्रका माध्यमबाट पार्टीमा विचार प्रवाह गर्थे ।जेलभित्र गम्भीर बिरामी परेर मृत्युको मुखमा पुगेका ओलीलाई कसरी बचाइयो भन्ने कुरा उनका राजनीतिक सहयोद्धा राधाकृष्ण मैनालीले आफ्नो संस्मरणमा लेखेका छन।

ओलीले जेलबाट छुटेपछि ०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फवाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए । त्यसपछि उनी पार्टीमा मदन भण्डारीको दाहिने हात बनेर एकाएक उदाउन थाले ०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई उनले साथ दिए सशस्त्र विद्रोहको विपक्षमा ०२८ सालमै मत जाहेर गरे पनि अल्पमतमा परेका ओली २० वर्षपछि बहुदलीय जनवादको नीति पारित भएपछि त्यसका प्रवक्ता बनेर उभिए ।

त्यसैले अहिले पनि ओलीलाई एमालेमा बहुदलीय जनवादको ब्याख्याता भन्ने गर्छन् उनका समर्थकहरु । यद्यपि बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी हुन् ।मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएलगत्तै एमालेमा नेतृत्वका दाबेदार बन्न चाहे पनि ओलीको पक्षमा माहौल बनेन । माधव नेपाल एकाएक पार्टीको नेतृत्वमा स्थापित भएपछि ओली उनको सहयोगी बने ।माधव नेपालसँग ओलीको सम्बन्ध सधै उतार-चढावपूर्ण रहृयो । पार्टीमा सधैं प्रतिपक्षी भूमिकामा रहे पनि नेपाललाई निर्णायक संकटका बेलामा जोगाउन ओलीले निर्णायक भूमिका खेले ।

एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले ०५९ सालमा भएको सातौँ महाधिवेशनमा प्रस्ताव गरे । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पराजित भयो ।तर, ०६५ सालमा ओलीकै सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली शुरु भयो । आज आएर नेपालका सबै कम्युनिष्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूलनीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीको नेतृत्व र उनको बहुदलीय जनवादलाई साथ दिएका ओली पार्टी विभाजनका बेला नेकपा मालेविरुद्ध बडा रुपमा प्रस्तुत भएका थिए । उनले महाकाली सन्धीको बचाउमा उभिएर भारतप्रति नरम नीति लिएका थिए ।बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा ओली पार्टी अध्यक्षका उमेद्वार थिए, तर उनी झलनाथ खनालसँग हारे । त्यसबेला ओलीले झलनाथ पक्षलाई माओवादी परस्त भएको आरोप लगाएका थिए ।

त्यसबेला ओली उग्र माओवादी विरोधी मानिन्थे, अहिले आफैंले प्रचण्डसँग अंकमाल गर्न पुगेका छन् ।सूत्रहरुका अनुसार ओली कुनै विचारधारा र अडानप्रति रुचि भएका नेता नभएर व्यवहारिक राजनीतिज्ञ मानिन्छन् । एमाओवादीसँगको उनको निकटता, र महाकाली सन्धीयता अहिलेको राष्ट्रवादी छविलाई पनि यही रुपमा हेर्न सकिन्छ ।वैचारिक हिसाबले यतिबेला ओलीको दुरी मधेसी र जनजातिप्रति बढेको छ ।

भारतीय पक्षसँग पनि उनको दूरी बढेको छ।आठौं महाधिवेशनमा माधव नेपालसँग मिलेका ओली नवौं महाधिवेशनमा चाँहि माधव नेपाललाई हराएर अध्यक्ष बनेका थिए।पार्टीको अध्यक्ष बनेपछि ओलीले पुर्व एमालेलाई मात्रै होइन पुर्व माओवादीलाई पनि मजबुद बनाएका छन् । अब प्रधानमन्त्रीका रुपमा उनले देशलाई कस्तो नेतृत्व दिने हुन आगामी पाँच बर्षिय कार्यकालमा त्यो चाँहि हेर्न बाँकी छ ।

पारिवारका सदस्यहरु
हजुरबा : स्व.मनरथ ओली ।
हजुरआमा : स्व. राममाया ओली ।
माता : स्व. मधु ओली ।
पिता : मोहनप्रसाद ओली ।

वैवाहिक अवस्था : विवाहित ।
१. श्रीमती : राधिका शाक्य ।
२. भाइ तथा बुहारी : जयप्रसाद ओली/इन्दिरा ओली ।
३. दिदी/बहिनी : विष्णुमाया, कौशिला र राजु ।
४. पारिवारिक संख्या : २ जना (श्रीमती राधिका शाक्यसहित)


स्थायी निवास : अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल
अस्थायी निवास : शरणामती– ६, झापा, नेपाल ।
१. नागरिकता नम्बर : २६६/३१३९५
२. राहदानी नम्बर : ००२५११४
शैक्षिक योग्यता : सामान्य ।
भाषा : नेपाली, हिन्दी र अंग्रजी ।
भ्रमण : स्वदेश— ७५ वटै जिल्ला ।

राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)

महत्त्वपूर्ण पार्टीको जिम्मेवारी
अध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९-२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन)
नेता, संसदीय दल, नेकपा (एमाले), (२०७० माघ २१ म सम्पन्न निर्वाचन) ।
संविधानसभा सदस्य- क्षेत्र नंः ७, झापा (२०७० मंसीर ४ को संविधानसभा निर्वाचन)

राजनीतिक यात्रा :
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।
जिम्मेवारी बहन : २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।
नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त २०२६ साल ।
२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन ।
२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।
२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।
२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन।

जेल जीवन
पहिलो पटक : २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।
पहिलो गिरफ्तार : झापा पुलिस थानामा ।
२०२७ र २०३० का बिचमा : पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।

(सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिजिको जेल यात्रा १४ बर्षे अध्याय)

२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
पहिलो भोगाई : रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
२०३३ साउनमा नख्खु जेल चलान ।
२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
२०३६ जेठमा गोलघर बाहिर ।
२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
२०३९ माघ ३ मा पोखरा जेल चलान ।
२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।

जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी बहन
२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी
२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।

नेपालको व्यवस्था परिवर्तनको निम्ति विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्त्वपूर्ण भूमिकाहरु
– २०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।
– २०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ ।
– २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।
– २०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।
– २०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

(सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिले आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आउनुभएको थियोे।हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्नमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ।

पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघर्षमय राजनीतिक जीवन।।
पुर्व प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको थियो।जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।”

त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- ‘खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।

पढाईमा अनौठो प्रगति
कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा (चितवन) पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे ।

ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए । तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए। परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले।

छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने ।

पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक यात्रा
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभयो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्दै २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभएको थियो ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ सालअसार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो ।

२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै उहां उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित हुनुभएको थियो ।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो।त्यसपछि २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट अध्यक्ष प्रचण्डले ४८२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।”

त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो।

पुष्पकमल दाहाल प्रचण्डको आचारण(स्वभाव)
नेपाली राजनीतिकका लिजेण्ड नेता हुन प्रचण्ड।उनी मिजासिला र सही नेतृत्व गर्ने खालका नेता मध्य एक पर्दछन।उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन।प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने असाध्यै ‘डायनामिक’ मानिस हुन।नेपालि काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वको गुणले काम गरेको थियो ।

प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हुन।प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्राय व्यस्ततामै बित्छन।अनि सामान्यतय राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् ।

दिउँसो नास्ता गर्ने चलन छैन।कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन। दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतया दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको ‘आमा’ हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव पनि दिन्छन।

सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, ‘श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।’ खेलकुदका बारेमा प्रचण्ड भन्छन्, ‘बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।’

उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आˆनो आदर्श नेता लेनिनलाई मान्छन् ।

२०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरेका छन । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।

समयानुक्रम यात्राहरु
* २०२६ सालमा एसएलसी
* २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
* २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
* २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
* २०३८ सालमा नेकपामा प्रवेश
* २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
* २०४६ महामन्त्री नेकपा (मशाल)
* २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र) २०५१ महामन्त्री नेकपा -माओवादी)
* २०५७ अध्यक्ष, नेकपा (माओवादी)
* २०६३ आम जनतासमक्ष र्सार्वजनिक

पुर्व एमाले र पुर्व माओवादी बीच पार्टी एकता
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई २०७५ जेठ ३ गते मदन भण्डारी स्मृति दिवसको दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो।

२०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी, एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठक जीवनराज आश्रितको स्मृति दिवस पारेर एकीकृत भएका हुन।

विद्यार्थी सङ्गठन
१,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघठन (अनेरास्ववियू)
२,युवा सङ्गठन:
Youth Association-Nepal (युवा संघ- नेपाल)

प्रतिक्रिया