यस्तो बन्यो धरहरा, बैशाख ११ गते उद्घाटन हुँदै (फोटोफिचर)

admin

काठमाडौं, ८ बैशाख : धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको पुरानो धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धमाधम काम चलिहरहेको छ । बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि श्रमिकहरुलाई काम भ्याई-नभ्याई भएको छ ।

निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटाउँदै रंगरोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग देख्न सकिन्छ । नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरामा अहिले टावरको काम सकिन लागेको छ ।

नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकाउने, रंग लगाउने र बत्ती जोड्ने काम भइरहेका छन् । गजुर पनि राखिएको छ । धरहराको फेदमा सिँढी बनाउने काम जारी नै छ । भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन ।

वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ । गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।

पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले बैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए । धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसाभित्र हालिएको छैन ।

प्रतिक्रिया