यी नियम पालना गरी, पदयात्रा र पर्वतारोहण गर्न विदेशीले भिसा पाउने

admin

काठमाडौं, १३ असोज : सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशीलाई भिसा दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा र पर्वतारोहण गर्न नेपाल आउने विदेशीले भिसा पाउने निर्णय गरेको हो ।

पदयात्रा र पर्वतारोहणको लागि नेपाल आउँदा पालना गर्नुपर्ने सर्तसहितको मापदण्ड स्वीकृत गर्दै मन्त्रालयले यी दुई क्रियाकलापको लागि आउनको लागि भिसा प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

सम्बन्धित देशमा नेपालको भिसा प्राप्त नहुने अवस्थामा नेपालमा रहेका ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट पूर्वस्वीकृति लिएर नेपाल आउन पाउनेछन् । एजेन्सीले पेस गरेका कागजात पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले स्वीकृत गर्नुपर्नेछ ।

यसरी ट्राभल तथा ट्रेकिङ एजेन्सीको समन्वयमा नेपाल आएका विदेशीले अध्यागमन विन्दुमै अनअराइभल भिसा पाउनेछन् । पदयात्रा र पर्वतारोहणको लागि नेपाल आउने विदेशीले पालना गर्नुपर्ने नियम :-

नेपाल आउनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । स्वास्थ्य मन्त्रालयले तोकेका सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

यस्तै कम्तीमा सात दिन क्वरेण्टीनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको हुनुपर्ने सर्त रहेको छ । क्वरेण्टीनमा बसेको पाँचौ दिन आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने पनि सर्त उल्लेख गरिएको छ ।

यसैगरी रिपोर्ट पोजेटिभ आएमा नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमै बस्नुपर्नेछ । आरोहण गर्न आउने विदेशीले पाँच हजार डलर बराबरको र नेपाली सहयोगीको एक लाख रुपैयाँको कोरोना बीमा गरेको हुनुपर्नेछ ।

 

 

 

 

 

 

प्रतिक्रिया