‘युट्युबलाई पत्रकारिताको मुलधारमा नल्याई सुखै छैन’

रिता घिसिंग
  • वरिष्ठ पत्रकार बिनोद त्रिपाठी 

काठमाडौँ: पछिल्लो पटक युट्युवमा काम गर्नेलाई पत्रकारिता मान्ने कि नमान्ने बहस शुरु भएको छ । तर, युट्युवलाई पत्रकारिताको मुलधारमा नल्याई सुखै छैन । पत्रकारको परिभाषा कागजसंग जोडिएको छ । पत्र अर्थात कागज र कार अर्थात कारिन्दा । पत्रमा काम गर्ने, लेख्ने ब्यक्ति । ०४५ साल अघि नेपालमा टेलिभिजन र रेडियोमा काम गर्नेलाई पत्रकार नै मानिन्थेन । पत्रिकामा समाचार लेख्नेलाई मात्र पत्रकार भनिन्थ्यो । नेपालमा पत्रकारिताको पढाई शुरु भएपछि यसको परिभाषालाई ब्यापकता गरियो । रेडियो टेलिभिजनको त कुरै छोडिदिनुस, पत्रिकामा काम गर्ने कम्प्युटर अपरेट, डिजाइनर लगायतले पत्रकार महासंघको सदस्यता पाउँदैनथे ।

अन्तराष्ट्रिय प्रचलन र बिधी अनुसार प्रेसलाई अघि बढाउने निर्णय धेरैपछि अर्थात बहुदल आएपछि शुरु गरिएको हो । २०४२ साल पुसमा नेपाल टेलिभिजनको शुरुवात भएपछि नेपालमा टेलिभिजनको दुनियाँले प्रबेश पायो । नेपाल पत्रकार महासंघले सबैलाई समेट्न छापामाध्यम बाहेकलाई पत्रकारितामा समेट्नुपर्ने बहस प्रारम्भ गर्यो । प्रबिधीको बिकाससंगै पत्रकारिताको दायरा फराकिलो बनाइएको भर्खर मात्र हो भन्ने हेक्का राख्न सबैले जरुरी छ ।

नेपालमा रेडियो, अनलाईन, टेलिभिजनलाई पत्रकारितामा समेट्न थालेको डेढ दशक पनि नाघेको छैन । अनलाईन दर्ता शुरुवात त भर्खरैदेखि भएको सबैलाई अवगत नै छ । त्यसैले, यो मपाइत् नत्यागेसम्म तपाई असली पत्रकार होइन । अहिले पत्रिकाको ठाउँ अनलाईनले र टेलिभिजनको स्थान युट्युबले खाएकोले आ-आफ्ना जलनको परिभाषा बदल्न सक्नुपर्छ ।

हामी पनि कुनैबेला धेरै दम्भी थियौं । अझ कतिसम्म भयो भने हामी मुलधार त्यसमा पनि देशकै सबैभन्दा ठुलो मिडियामा पत्रकारिता गर्नेले त साना मिडियामा काम गर्नेलाई पत्रकार नै गन्दैनथ्यौं । पत्रिकामा काम गर्नेले टिभीतिरकालाई पत्रकार भन्दैनथ्यौं । यो त्यो बेलाको दम्भ थियो । प्रबिधीले सबैलाई बदल्यो । अहिले सबै संचारमाध्यममा काम गर्ने सबै पत्रकार भए । त्यसैले, युट्युब, अनलाईन पनि अब पत्रकारिता क्षेत्रको महत्वपुर्ण हिस्सा बनिसकेको छ । अब युट्युवरहरु पत्रकार भइसकेका छन् ।

यदि हिजो पत्रिकामा काम गर्नेलाई मात्र पत्रकार मान्ने नियम बसिरहेको भए अहिले टेलिभिजन र रेडियोमा काम गर्ने पनि कसरी पत्रकार हुन्थे ? त्यसैले, युट्युव, अनलाईन पनि संचारको दुनियामा पत्रकारिताको महत्वपुर्ण हिस्सा बनेर प्रबेश गरिसकेको बास्तविकता भुल्न हुँदैन । आफ्नो धरातल कसैले नभुलौं । प्रबिधीलाई पछ्याइन्छ भने प्रबिधीले सिकाएका सुबिधालाई आत्मसाथ गर्न सिकौं । अहिले नेपालका केहि टेलिभिजनमा काम गर्ने केहि ब्यक्तिहरु एकदम जिम्मेवार/गैरजिम्मेवार दुवै छन् । युट्युव चलाउनेहरु कतिपय ब्यक्तिहरु एकदम जिम्मेवार/गैरजिम्मेवार दुवै छन् । युटयुव र अनलाईन मात्र होइन, पत्रिका, टिभी, रेडियो सबैलाई ब्यबस्थित र मर्यादित बनाउन जरुरी छ । तर, पत्रकारिताको परिभाषा सांगुरो बनाएर कसैलाई फाइदा छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू