युनियन अध्यक्षमा महिला पत्रकार

admin

भद्रपुर, १३ असोज: नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित हुनुभएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनका क्रममा आज साँझ सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त गरी पूर्वेली निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका अर्का प्रतिष्पर्धी राजेन्द्र गौतमले ४१ मत प्राप्त गर्नुभएको थियो । इन्दु पूर्वेली विर्तामोडबाट प्रकाशित हुने जनआन्दोलन साप्ताहिककी सम्पादक हुनुहुन्छ । नेतृत्वका लागि सहमतिको प्रयास भए पनि अन्तिममा गौतम र पूर्वेलीबीच अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा भएको थियो । कूल मत १२७ मध्ये १०६ मत खसेको थियो भने एक मत बदर भएको थियो ।

युनियन झापाको इतिहासमा यो नै पहिलोपल्ट लोकतान्त्रिक चुनावी प्रक्रियाबाट अध्यक्ष छानिएको हो । झापाको इतिहासमा पत्रकारको सङ्गठनमा महिलाले अध्यक्ष पद सम्हाल्ने अवसर पाएको पनि यो पहिलो पटक हो । उपाध्यक्ष पदमा दमकका गिरिराज भट्टराई र मेचीनगरकी सुष्मा राजवंशी सर्वसम्मत चयन हुनुभएको छ । सचिवमा डिल्लीराम घोर्साइ, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्ष पदमा ओमप्रकाश भट्टराई चयन हुनुभएको छ ।
-रासस

प्रतिक्रिया