युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने

रिता घिसिंग

विराटनगर, २९ फागुन (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

मन्त्री घिमिरेले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन सोचले कार्य गरेमा मुलुकको समृद्धि कायम हुनेछ भन्नुभयो ।

प्रदेश सचिव केदार न्यौपानेले विश्वविद्यालय र विद्यालयले दिने शिक्षा सीपमूलक भएमा मात्र त्यो सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । कार्यदलका संयोजक डा रुद्र सुवालले अहिले मुलुकमा भएका र आगामी २५ वर्षसम्म के–कस्तो जनशक्ति मुलुकलाई आवश्यक छ त्यस सम्बन्धमा आवश्यक सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्षमले कृषि, उद्योग, सेवा र राष्ट्रको आवश्यक्ताको आधारमा जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो । एकदिने अन्तरक्रिया कार्यक्रममा प्रदेश स्थानीय निकायका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया