युवालाई दाम्लोले बाँधेर कुट’पिट गर्ने वडाध्यक्ष पक्राउ

admin

जाजरकोट, २१ साउन : जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय सर्पे दमाईलाई दाम्लोले बाँधेर कुट’पिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सदरमुकाम खलङ्गा झिकाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

ग्रामीण सडक भत्किएकाले पैदल नै सदरमुकाम ल्याइने जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताए । घटनास्थल सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्दछ । गएको १५ गते भत्ता वितरणका क्रममा विवाद हुँदा वडा अध्यक्ष नेपालीले सर्पे दमाईलाई कुटपिट गरेका थिए ।

उनले कुट’पिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि बल्ल उनलाई सदरमुकाम झिकाइएको हो । यसअघि उनले पीडितलाई आउँदो दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गराएर मिलापत्र गराएका थिए । वडा अध्यक्ष नेपालीलाई कानुनअनुसार कारबाही हुने जाजरकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाका अनुसार पीडित पक्षलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले वडाअध्यक्षमाथि अहिलेसम्म उजुरी दिएका छैनन् । तर, स्थलगत मुचुल्का र प्रमाणका आधारमा अनुसन्धानलाई अगाडि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया