युवाहरुद्वारा सडकमा ‘नमुना संसद्’ बनाएर प्रतिनिधि सभा विघटनको विरोध

admin

काठमाडौं, ७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयको विरोधमा दिनहुँ विभिन्न पक्षबाट आन्दोलन भइरहेको छ । बुधबार पनि प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा ‘नमुना संसद्’ मा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ ।

काठमाडौंमा नेपाल टीन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमुना संसद्’ बनाइ राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो । नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

सो बैठकबाट प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै उनले राजीनामा गर्नुपर्ने निर्णय समेत गरिएको छ । राजधानीको भृकुटीमण्डस्थित पद्मोदय मोड अगाडि सडकमा भेला भएका उनीहरुले संसदीय प्रक्रिया जस्तैगरी बैठक चलाए भने सो बैठकको अध्यक्षता गरेका थिए- विवश बलामीले ।

राष्ट्रिय गानबाट सुरु गरिएको ‘नमुना बैठक’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसम्बन्धी विशेष प्रस्ताव रिवाज बानियाले पेश गरेका थिए । सो प्रस्तावमाथि राष्ट्रियसभामा जस्तै गरी छलफल गरेर ओलीको कदम ‘असंवैधानिक’ भएको ठहर युवाहरुले गरेका थिए ।

यस्तै उनीहरुले ओलीले राजीनामा दिनुपर्ने ‘निर्णय’ गर्दै राष्ट्रपतिलाई प्रतिनिधिसभा बैठक अबिलम्ब बोलाउन सिफारिस समेत गरेका छन् । बैठकले केपी शर्मा ओलीले राजीनामा दिँदै प्रतिनिधिसभा पुनःस्थापित गरेर राष्ट्रपतिले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने सिफारिस गरी संकेतिक रुपमा दवाव दिइएको कार्यक्रम व्यवस्थापक विशाल केसीले जानकारी दिए ।

संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको केसीले बताए । सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ थियो । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए भने सो कदमको ओलीपक्षबाहेक करिब सबै क्षेत्रबाट विरोध हुँदै आएको छ ।

प्रतिक्रिया