युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छ : पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा

मनिषा थापा

काठमाडौँ, १३ असोज (रासस)  :  पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गर्नुभएको छ ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा आज यहाँ आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उहाँले भन्नुभयो, “खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । ”

पूर्वस्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

“नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफै को  हो” उहाँले भन्नुभयो । पूर्वस्वास्थ्यमन्त्री थापाले मुलुकको समृद्धिका यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने बताउनुभयो ।

स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उहाँले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया