यो दशैंमा नयाँ नोट साट्न नपाइने

admin

काठमाडौं : हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ ।राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यो वर्षको यसपालीको दशैंमा नयाँ नोट नपाइने भएको छ ।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो ।यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

तर यसपाली भने बढ्दो कोरोना भाइसरको संक्रमणका कारण भिडभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पालना गर्दै दशै लक्षित नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

‘पहिले जस्तो समय तोकेर वा बैंक निर्धारण गरेर दशैंमा नयाँ नोट वितरण यो वर्ष हुँदैन’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘यस विषयमा थप छलफल अझै भइरहको छ, असोजको पहिलो सातासम्म आधिकारीक निर्णय गरी सूचना जारी हुन्छ ।’

राष्ट्र बैंकले गत वर्षबाट दशैं बाहेक पनि नयाँ नोट आवश्यक पर्नेलाई बैंकमार्फत् वितरण गरिरहेको छ । दशैंमा नोट आवश्यक पर्नेले अहिलेबाटै सम्बन्धित बैंकबाट सुरक्षित तबरले लिनसक्ने उनले जानकारी दिए । गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो । हाल ५ खर्ब ९२ अर्ब रुपैयाँ नोट सर्कुलरमा रहेका छन् ।

प्रतिक्रिया