‘यो दाजुको मिरमिरे आँखा’ का सर्जक, गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

admin

काठमाडौं, १२ माघ : यो दाजुको मिरमिरे आँखा…कस्तो मेरो बिगार्‍यो दिमाख…नरोऊ मायालु..! गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

पोखरा-१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर-अमर गीतका सर्जक थिए । विसं २०२१ मा जन्मिएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए ।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउएका थिए । उनी ‘लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छु’ भन्नेमा विश्वास गर्दथे । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँ कतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि यस पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए । एक दशकअघि दुई सारङ्गीबाट सुरु गरिएको त्यस पाठशालामा संरक्षकका रूपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् ।

लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरूप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थपेका थिए । पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरूले सारङ्गी रेट्न सिकिरहेका छन् ।

प्रतिक्रिया