यौनजन्य दुव्र्यवहारका आरोपी वडाध्यक्ष धरौटीमा रिहा

राष्ट्रिय समाचार समिति

तनहुँ, १४ भदौ : यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएका हुन् ।

प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । “मुद्दा अहिले विचाराधीन अवस्थामा छ”, उहाँले भन्नुभयो, “मुद्दा फैसला हुन करीब ५÷७ महीना लाग्न सक्छ, त्यतिञ्जेलसम्म महीनाको एक पटक तारेखमा आउनुपर्ने हुन्छ ।”

वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीय युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी अपाङ्गता रहेकी दलित थरकी ती युवतीलाई वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुव्र्यवहार गर्दै आएको भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।

म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, तिमीलाई आर्थिक सहयोग गर्छु, कसैलाई यी कुरा नगर्नुलगायतका करीब १८ मिनेटको फोन कल रेकर्ड पीडित युवतीले सुरक्षित राखेकी छिन् । वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको पीडित युवतीले बताइन् । युवतीले वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएपछि वडाध्यक्ष भण्डारी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया