रङ्गशाला भत्काउनेलाई कारवाही हुनुपर्छ : मन्त्री लामा

शर्मिला गुरुङ

काठमाडौँ, १६ जेठ  :  प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राख्नुभयो ।

चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो ? उहाँले प्रश्न गर्नुभयो ।

तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदर गरिनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया