राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

admin

काठमाडौं, ७ साउन: राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरको नाम सिफारिस गरिएको हो।

गएको वर्षको असारमा प्रधानमन्त्री ओली निकट सिलवालले खेलुकद परिषद्को सदस्यसचिवमा राजनीतिक नियुक्ती पाएका थिए। खेलकुद ऐन लागू भएपछि उनको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर फेरि सदस्य सचिव बन्न चाहेका छन्।

भलिबल संघमा रहेका नेकपाका केन्द्रीय सदस्य थापामगर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट हुन्। बाग्लुङका थापा मगर तत्कालिन एमाओवादीका पोलिटब्यूरो सदस्य थिए।पूर्व कप्तान अञ्जुले दुई पटक साग भलिबलमा कास्य पदक जितेकी छिन्। आठौं सागमा कास्य जितेकी उनी १० औं सागमा कास्य जित्दा नेपालको कप्तान थिइन्।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिव पदका लागि आह्वान गरेकोमा २७ जनाले आवेदन दिएका थिए।मन्त्रालयका सचिव रामप्रसाद थपलिया, परिषद्का पूर्वकर्मचारी रिम रानाभाट र परिषद्को पूर्व बोर्ड सदस्य इन्दिरा निरौला रहेको सिफारिस समितिले आवेदनको अध्ययन गर्दै तीन जनाको नाम सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालको पदक निष्क्रिय भएको थियो।त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्‌को सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको थियो।

समितिले निवेदन दिएकहरुको कार्ययोजना अध्ययन गरेर सदस्यसचिव सिफारिस गरेका तीन जनाको नाम मन्त्रालयमा बुधबार नै बुझाएको छ।अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्‌मा पेश गर्नेछ। जस मध्ये एक जनालाई मन्त्रिपरिषद्ले खेलुकद परिषद्को सदस्यसचिवमा नियुक्त गर्नेछ।

प्रतिक्रिया