चिनियाँ राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा माग

admin

काठमाडौं, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यममा प्रसारित अनर्गल प्रलापको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भत्सर्ना गरेको छ ।

मोर्चाले यो सन्दर्भमा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्ने माग गरेको छ ।

एक प्रेस वक्तव्य जारी गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भनेका छन्, ‘यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन्, तर नेपालका प्रधानमन्त्रीमाथि भारतीय सञ्चारजगत्ले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको छ, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा त्यसको घोर भर्त्सना र निन्दा गर्दछ ।’

‘यसका साथै नेपालका लागि महामहिम चिनियाँ राजदूतको कूटनीतिक मर्यादामाथि हिलो छ्यापेर पीत शैलीमा नयाँ दिल्लीले गरिरहेको नग्ननृत्यले ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान चरितार्थ गर्नु उत्तिकै निन्दनीय रहेको छ ।’

‘नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सा संशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर भारतीय सञ्चारमाध्यमले पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरेको देखिएको मोर्चाको ठहर छ । त्यो भारत सरकारकै सहमतिमा भएको हो भन्न बाध्य हुनुपर्छ ‘ जारी विज्ञप्तिमा भनिएको छ ।

तसर्थ नेपाल र इन्डियाबीचको सम्बन्धका विविध र वृहत्तर आयामलाई इन्डिया आफैले संकुचित गर्न चाहेको प्रमाणित भएको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि इन्डियाली राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्ने मोर्चाको माग छ ।

प्रतिक्रिया