दशैँ मनाउन राजधानीबाट १२ लाख बाहिरिए

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १५ असोज: दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।



महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ । अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिनुभयो । प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताउनुभयो । राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताउनुभयो ।

उहाँले चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । अभियानका कारण महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरिएको छ । यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया