आज बाबु, श्रीमीती र छोराछोरीको मुख हेर्ने दिन हो ? विभूषणहरुले लज्जा मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थे : ओली

admin

काठमाडौं, ३ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने अवस्थाको अन्त्य भएको बताउँदै सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् ।

आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै उनले भने- ‘राजनीतिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि हैन भन्ने बहस थियो । संविधान जारीपछि अब नेपालमा हिंसा आवश्यक छैन । आवश्यक छैन भने यो स्वीकार्य पनि हुँदैन । भेदभाव विभेद जस्ता कुराको अन्त्य गर्दै सामाजिक न्याय र समानता तर्फ देश अगाडि बढ्नुपर्छ भन्ने कुराको प्रत्याभूति भएको छ, हामी त्यस बाटोमा अगाडि बढेका छौँ ।’

उनले संविधानले जनताका गाँस, बास, कपास र आवाज जस्ता कुरालाई मौलिक हकको रुपमा समावेश गरेको, ३ तहको अधिकार विकेन्द्रीकृत गरेको उल्लेख गरे । अध्यक्ष ओलीले सिंहदरबारबाट शिक्षा, स्वास्थ्य लगायतको अधिकार गाउँ-गाउँमा पुर्याएको बताउँदै कतिपय स्थानमा व्यक्तिको कार्यक्षमताका कारण कार्यान्वयनमा कमी भएको हुनसक्ने टिप्पणी गरे । उनले स्वार्थ समूहका अनेक बाधा व्यवधान पार गरेर संविधान जारी गरेको बताउँदै जनताले सार्वभौम सत्ता सम्पन्नताको अनुभवको सुनिश्चित गर्न लिपिबद्ध गर्ने काम गरेको उल्लेख गरे ।

उनले भने-‘आजभन्दा ६ वर्षअघि हामीले जारी गरेको संविधानले जनतामा रहेको सार्वभौमसत्ता, जनताबाट राज्यशक्ति मिश्रित हुने र जनतामा नै सम्पूर्ण शक्तिको स्रोत हुने कुरालाई संविधानमा सुनिश्चित गरेको छ । त्यसकारण यो उचाइबाट शक्तिको स्रोत जनता हुन् भन्ने कुरा लिपिबद्ध गरेर देशको संविधान सर्वोपरि हुन्छ, जनताको त्यो सर्वोपरिता संविधानमार्फत् जनताले व्यवस्थित गरेको हुन्छ । संविधानले असमानता अन्त्य गर्दै सम्भावनाको फराकिलो क्षितिज खोलेको छ ।’

संविधानले मानव अधिकारको जग बसाएको उल्लेख उनले गर्दै जनताका प्रतिनिधिहरूले बनाएको ठुलो दस्तावेजको रूपमा संविधान रहेको टिप्पणी गरे । सोही क्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

यस्तै बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । ओलीले भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’ उनले अघि भने, ‘जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए । ‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २/४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ ओलीले अघि भने, ‘मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’ यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनले बताए ।

प्रतिक्रिया