राजनीतिमा सक्रिय हुँदै अभिनेत्री मनिषा कोइराला, नयाँ राजनीतिक दल खोल्दै

admin

काठमाडौं, ३० साउन : चर्चित अभिनेत्री मनिषा कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायत प्रतिष्ठित व्यक्तिहरूले नयाँ राजनीतिक दल जन्माउने तयारी गरेका छन् ।

धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर नयाँ राजनीतिक दल खोल्न लागिएको हो । यसलाई आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जन्माउने र न्वारन गर्ने तयारी छ । यद्यपि, टुंगो लागिसकेको भने छैन ।

नयाँ दलमा चर्चित अभिनेत्री मनिषा कोइरालालाई सबैभन्दा सिरानमा राखेर सर्वोच्च नेतृको भूमिका दिने गरी छलफल अघि बढाइएको स्रोतले जनाएको छ । मनिषा बीपी कोइरालापुत्र प्रकाशको छोरी हुन् । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर गठन गरेको सरकारमा सहभागी प्रकाश भने यो अभियानमा सहभागी हुने- नहुनेबारे केही बताइएको छैन ।

यो दलको अध्यक्षको भूमिका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई दिने लगभग निश्चित भइसकेको छ । घटना र विचार साप्ताहिकका संस्थापक प्रधान सम्पादक त्रिपाठी सुरुवातदेखि नै अहिलेको राजनीतिक कोर्ष बदल्नु पर्ने पक्षमा छन् । गणतन्त्रले देशको मौलिकता र स्वाधीनता संकटमा पार्दै लगेको त्रिपाठीको ठहर रहँदै आएको छ । यही ठहरका साथ लामो समयदेखि त्रिपाठी नयाँ दल जन्माउने तयारीमा जुटिरहेका छन् ।

नयाँ दलमा एक वरिष्ठ र पाँच उपाध्यक्ष राख्न मोटामोटी सहमति बनेको छ । ७१ सदस्यीय केन्द्रीय कमिटी र पदाधिकारीलाई सचिवालय बनाउन सुझाव दिइएको छ । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी वरिष्ठ चिकित्सक रामप्रसाद उप्रेतीले पाउने सम्भावना छ ।

पाँच विकास क्षेत्रलाई आधार मानेर पाँच जना उपाध्यक्ष राख्न लागिएकोमा अहिलेसम्म भूपनारायण घर्ती मगरको नाम मात्र ओके भएको छ । हरियाली पार्टी छाडेर आउन लागेका डा। बीपी तिमिल्सिनालाई महासचिव बनाउने तयारी छ । झापाका बीपी आयुर्वेदका घाघडान चिकित्सक हुन् ।

केन्द्रीय समितिमा पनि क–कसलाई ल्याउने भन्नेबारे अहिले घनिभूत छलफल चलिरहेको स्रोतले साँघुलाई बतायो । यो दलको मूल राजनीतिक एजेन्डा हिन्दू राष्ट्रको पुनर्स्थापना र संघीयता खारेज हुने बताइएको छ ।

जातीयतामा आधारित समानुपातिक व्यवस्थाको खारेजी र नेपालको सबै भाषालाई प्रवद्र्धन गर्दै नेपाली भाषालाई अनिवार्य औपचारिक भाषाको मान्यता दिने मुद्दालाई पनि यो दलले जनताको बीचमा लैजानेछ ।
-साँधु साप्ताहिकबाट

प्रतिक्रिया