प्रधानमन्त्रीविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा दर्ता

admin

काठमाडौं, माघ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको मानमर्दन गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दुई जना अधिवक्ताले निवेदन दिएका थिए ।

अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले पेस गरेको निवेदन मङ्गलबार दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । निवेदनमा प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यङ्ग्य गरेपछि प्रधानमन्त्रीको अहिले चौतर्फी आलोचना भइरहेको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया