राजसंस्था कायम गर्न माग गर्दै ७२ घण्टे सत्याग्रह शुरु

मनिषा थापा

काठमाडौँ : राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह शुरु गरिएको छ। शान्ति वाटिकाका स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापना गर्ने मागसहित आइताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह शुरु गरेका हुन्।

स्वतन्त्र नागरिक समाजले सो सत्याग्रहलाई सफल बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न सबैलाई आह्वान गरेको छ। मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह शुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए।

उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिनसो सत्याग्रह शुरु गर्नु परेको बताए। पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित शुरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया