राजा हुन्छु भन्दै नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गरेका व्यक्ति पक्राउ

admin

काठमाडौं, ८ असोज : नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीलाई श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए । घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए । घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन् ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच राखेको ठाउँ नजिकको सीसा फोड्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिइएको जानकारी आफूले पाएको बताए । ‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ’ उनले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’ ‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने ।

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको सिंहले जानकारी दिए । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया