राज्यबाट पाउने तलब काटेर भएपनि देशको सबै ध्यान कोरोना नियन्त्रणमा हुनुपर्छ : नेता भट्टराई

admin

काठमाडौं, ३० बैशाख : नेकपा एमालेका नेता योगेश भट्टराईले देशको सबै ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै नेता भटराईले अहिले सबै कुरा छाडेर कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले सबैलाई लज्जित बनाएको भन्दै संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने बताएका छन् ।

उनले भूकम्पपछि दलहरुले सहमति गरेर संविधान बनाएको जस्तै अहिले सबै दलहरु मिलेर महामारी विरुद्ध लड्नुपर्ने बताएका छन् । नेता भट्टराईले कोरोना विरुद्धको लडाइँमा खटेकाहरुबाहेक राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न, अरु शीर्षकका बजेट कोरोना रोकथाममा प्रयोग गर्न र सबै जनशक्तिलाई कोरोना विरुद्ध केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै नेता भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गल्ती सच्याएको भन्दै सहमतिका लागि अघि बढ्नुपर्ने पनि बताएका छन् । एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जनाको निलम्बन फुकुवा गरेको छ ।

सोही विषयमा सामाजिक सञ्‍जालमा भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनी मन्त्री पदबाट राजीनामा दिँदै विरोधमा उत्रिएका थिए। नेपाल पक्षमा रहेका भट्टराई उक्त समूहले गर्न खोजिरहेको राजीनामा रोक्न सक्रिय छन् ।

प्रतिक्रिया