राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

शर्मिला गुरुङ

भद्रपुर, १ फागुन : गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । 



मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । 

उहाँले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई विभाजित गर्ने, साम्प्रदायिक दङ्गा फैलाउने शक्ति यो प्रदेशमा र जिल्लामा रहेको जानकारी दिँदै त्यस्ता तत्वलाई नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाउन जरुरी रहेको बताउनुभयो । 

गृहमन्त्रीले जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा आफ्नो दायित्वलाई महत्वपूर्ण ढङ्गले निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । पछिल्लो समय झापामा चोरी तस्करी बढिरहेको बताउँदै उहाँले त्यसलाई नियन्त्रण गर्न थप सुरक्षा नीति अपनाउनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले विकास र समृद्धिको दिशामा देश अघि बढिरहेको उल्लेख गर्दै यसका निम्ति सुशासन र शान्तिलाई अझ सुदृढ र व्यवस्थित गर्नुपर्ने बताउनुभयो । 

मन्त्री थापाले भ्रष्टाचार नियन्त्रणमा सरकार कटिबद्ध भएको बताउँदै भन्नुभयो, “प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने मूल मन्त्र छ यो विषयमा सबैले ध्यान दिऔँ ।” उहाँले प्रमको अभियानलाई सफल पार्न आन्तरिक प्रशासनले विशेष ध्यान दिएर लाग्नुपर्ने बताउनुभयो । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति सरकारले लिएको बताउँदै जिल्लामा भ्रष्टाचार उन्मूलन गर्न विशेष ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले झापाको शान्ति सुरक्षाको अवस्था र प्रशासनले वर्षभरि गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया