राधाकृष्ण रथयात्रा स्थगित

राष्ट्रिय समाचार समिति

विराटनगर, २७ असार : विगत ८५ वर्षदेखि विराटनगर महानगरमा निरन्तररुपमा सञ्चालन हुँदै आएको भगवान् श्रीराधाकृष्णको रथयात्रा यस वर्ष कोभिड–१९ का कारण स्थगित गरिएको छ । राधाकृष्ण मन्दिर समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नागरिकको स्वास्थ्य एवं सुरक्षाका कारण यस वर्ष साउन २८ गते हुने रथयात्रा सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ ।

मन्दिर कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले प्रत्येक वर्ष नेपाल र भारतका गरी पाँच लाख भक्तजन एवं श्रद्धालुले प्रत्यक्ष अवलोकन गर्ने गरेको रथयात्रा कोभिड–१९ महामारी, बन्दाबन्दी, सामाजिक दुरी एवं विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार यस वर्ष स्थगित गरिएको जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बाध्यात्मक परिस्थितिले जनताको स्वास्थ्य एवं सुरक्षाका कारण समुदायमा सङ्क्रमण नफैलियोस् भन्नका लागि रथयात्रा स्थगित गरेको बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिले धार्मिक परम्परालाई ध्यानमा दिई विधिविधानअनुसार शुभसाइतमा कार्यसमितिको सहभागितामात्र साउन २८ गते भगवान् राधाकृष्णको खटलाई गाडीमा राखी नगर परिक्रमा गर्ने बताइएको छ ।

यसैगरी मन्दिरले वार्षिक रुपमा मनाउँदै आएको झुलन महोत्सव साउन १५ देखि र साउन २७ गतेको जन्माष्टमी पर्व भव्यरुपमा मनाउन स्वास्थ्य एवं सुरक्षाका लागि स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया