रानीपोखरीको मन्दिरमा विधिअनुसार बिहीबार गजुर राखिने

admin

काठमाडौं, १२ असोज : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर राखिने भएको छ । बालगोपालेश्वर मन्दिरमा सोमबार गजुर प्रतिस्थापन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम रोकिएको हो । ‘गजुर निकाल्दा र राख्दा गर्नुपर्ने पूजाको विधि छ’ उनले भने, ‘विधिअनुसार बिहीबार प्राणप्रतिष्ठा हुनेछ ।’

रानीपोखरीको नजिकै रहेको दरबार हाइस्कुलको एउटा कोठा मागेर बालगोपालेश्वर मन्दिरको गजुरमा जलप लगाउने काम भइरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ ।

पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीमा बनेको थियो । तर १९९० सालको भूकम्पले क्षति गरेपछि गुम्बज शैलीमा बनाइएको थियो ।

२०७२ सालको भूकम्पअघि बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो । अहिले पुनर्निर्माणका क्रममा विज्ञहरुको राय लिएर मल्लकालीन अर्थात ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो । सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो । यसअघि गएको बैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना संक्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेन ।

प्रतिक्रिया