रानीपोखरीको मन्दिरमा १२३ किलोको गजुर राखियो

अस्मिता बेल्बासे

काठमाडौं, १५ असोज : बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको हो ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । २०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेपछि पुननिर्माणको काम सुरु भएको थियो ।

 

शिलान्यास भएको झण्डै पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सकिने चरणमा छ । बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलीबाट निर्माण गरिएको हो । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो ।

मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा झण्डै २८ तोला सुनको जलप लगाइएको बताएका छन् ।

मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५ दशमलव ७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा झण्डै ३३ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्ने गरी पुनर्निर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताए । अब मन्दिर भित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उनले बताए ।

प्रतिक्रिया