रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्रालय, कसले पाए कुन मन्त्रालय ?

admin

काठमाडौं, २२ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्रप्रसाद बडुलाई कानुन, न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा र उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका हुन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीकै रूपमा तानिएको छ । कांग्रेसबाट यसअघि बालकृष्ण खाण गृह र नारायण खड्का परराष्ट्र मन्त्री रहेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्रबहादुर हमालले पाएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, रामसहायप्रसाद यादव वन तथा वातावरण र महिन्द्र राय यादव कृषि तथा पशुपक्षी विकास मन्त्री नियुक्त भएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट प्रेमबहादुर आले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, रामकुमारी झाँक्री सहरी विकास मन्त्री बनेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाएका छन् भने स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल रहेका छन् ।

प्रतिक्रिया