रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

राष्ट्रिय समाचार समिति

खलङ्गा, ३० असोज: चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ ।

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका छन् । दशैँ सकिएपछि रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने पर्यटकका गाडीहरु बाक्लो रुपमा देखिन थालिएको स्थानीयवासीले बताएका छन् ।

रारा तालले दिनमा निकै चोटि रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग र्फछ । त्यही रङ्गफेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै स्वर्गको अप्सरा जस्तै देखिन्छ र पर्यटकलाई मनै लोभ्याएको हुन्छ । काठमाडौंबाट पहिलो चोटि रारा ताल घुम्न आएका डा अशोक महासेठले यस्तै अनुभव गर्नुभयो ।

दशैँयता मात्रै पाँच हजारभन्दा बढी पर्यटकले रारा र सिञ्जा अवलोकन गरिसकेको प्रहरी चौकी गोठीज्यूलाको अनुमान छ । सिञ्जा क्षेत्रको गोठीज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मबजार, राराताल र जुम्लाको खलङ्गा बजार तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा अहिले रारा जाने र फर्किने पर्यटकको भीड बढेको व्यवसायीहरु बताउँछन् । नाग्म–गमगडी राजमार्गमा पर्यटक सवार गाडीहरु बाक्लो रुपमा गुडिरहेका छन्, तर बाटो हिलो र धुलोले सास्ती व्योहोर्नु परेको पर्यटकहरु बताउँछन् ।

कनकासुन्दरी गाउँपालिका–३ सिञ्जामा रहेको राराटफ शोभा होटलमा अहिले रारा जाने र आउने पर्यटकलाई खाना खुवाउन र बास बसाल्न चटारो भएको होटलका सञ्चालक भक्तबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार दैनिक ५०÷६० बढीलाई खाना खुवाउने अवसर मिलेको छ । गोठीज्यूलामा अहिले करीब तीन दर्जन बढी सानातिना होटल रारा र सिञ्जा आउने पर्यटकले धानेका छन् ।

“देशकै ठूलो ताल राराको विषयमा धेरै पहिलादेखि सुनेका थियौं । धेरैपटक जाने योजना पनि बुन्यौ । तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, तर हामी यसपाली पुग्यौं र तालको सौन्दर्यमा रमायौं”, एक साताको समय लिएर रारा र सिञ्जा घुम्न आएका उर्लाबारी नगरपालिका मोरङका नवीन श्रेष्ठले भन्नुभयो, “राराले पर्यटकलाई मनै लोभ्याएको छ तर बाटो विस्तार तथा कालोपत्र नहुँदा सास्ती व्योहोर्नु परेको छ ।” यो राजमार्गमा बढीजसो स्कार्पियो गाडी लिएर पर्यटक आउने गरेका छन् । स्कार्पियो कच्ची बाटोका लागि बलियो भएकाले धेरैजसो स्कार्पियो गाडी आउने गरेको स्थानीय चालक मोती न्यौपानले बताउनुभयो ।

यसैगरी रारा जाने पर्यटक फर्किँदा वा आउँदा एकपटक प्रायःगरी जुम्ला बजारमा आउने गरेका छन् । अहिले पर्यटक बढेको दौतरी होटल जुम्लाका प्रबन्धक पदमबहादुर महतले जानकारी दिनुभयो । लामो यात्रा भएकाले आरम गर्न तथा घुम्न पनि पर्यटक जुम्ला सदरमुकाम खलङ्गामा आउने गरेका छन् । यहाँको सिञ्जा सभ्यतासहित सदरमुकाममा रहेको ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य गुम्बा, स्याउ बगैँचा, तातोपानीलगायत विभिन्न सम्पदामा पर्यटक रमाउने गरेका छन् ।

केही पर्यटक तत्कालीन विशाल साम्राज्यको राजधानी सिञ्जा र यहाँको कनकासुन्दरी मन्दिर, पाण्डवगुफा, विराट दरबारदेखि विभिन्न पुरातात्विक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेको सिञ्जा कनकासुन्दरी–४ का सूर्यमणि हमालले जानकारी दिनुभयो । उहाँका अनुसार रारा र सिञ्जामा दशैँ र तिहारमा मात्रै करीब २० हजार पर्यटक आउने गर्दछन् ।

सडक स्तरवृद्धि भए समृद्धि
रारा आउने पर्यटक बढे पनि सडक स्तरवृद्धि नहँुदा आएर फर्किने मानिस फेरि नफर्किने गुनासो गर्दै आएका छन् । तर कर्णाली राजमार्ग दुईलेन, नाग्म–गमगडी राजमार्ग कालोपत्र भएमा पर्यटक अहिलेको भन्दा तीन गुणा बढ्ने अनुमान गरिएको छ । सोहीअनुसारको आर्थिक लाभ स्थानीय होटल व्यवासायी र किसानले लिनेछन् । यहाँको अग्र्यानिक स्याउ, सिमी, ओखर, मार्सी चामल बिक्री उत्तिकै बढ्नेमा दुईमत छैन ।

प्रतिक्रिया