राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २७ भदौ: राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरीक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएपछि रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिनुभयो । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

यही भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका र प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज १ गते बिहान ०५ः३५ बजे इन्द्रध्वज पातन गरेपछि आठ दिन लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यस जात्राको प्रक्रिया शुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गर्नुभएको थियो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो ।

यस वर्ष जात्रा हेर्न छ देशका पाहुनालाई पनि काठमाडौँमा निम्ता गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज सार्वजनिक बिदा पनि दिने गरिन्छ । जात्रा अवलोकन गर्न उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया