राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद् अधिवेशन आह्वान

admin

काठमाडौं, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिए ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ । शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया