राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले दिए राजीनामा

मनिषा थापा

वासिङ्टन, २५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रबार राजीनामा दिएका छन् । फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार निर्देशकमा नियुक्त भएका थिए ।

ह्वाइट हाउसका अनुसार शाइनले अब रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवारका लागि प्रचार समितिको रुपमा कार्य गर्नेछन् ।

राष्ट्रपति कार्यालयका सन्देशलाई अझ व्यवस्थित गर्ने अपेक्षा गरिए पनि राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत ह्वाइट हाउसका सबैजसो महत्वपूर्ण सन्देशहरु प्रवाह गर्न थालेपछि शाइनको भूमिका गौण बनेको थियो ।

केही साता अघिदेखि नै ह्वाइट हाउसमा शाइनको भूमिकाबाट राष्ट्रपति बेखुस हुनुभएको थियो । उत्तर कोरियाली नेतासँग भियतनामको हनोईमा सम्पन्न वार्ताका समयमा पनि शाइन भियतनाम गएका थिएनन् ।

तर, ट्रम्पले एक वक्तव्य जारी गर्दै ह्वाइट हाउसमा सँगै काम गर्न नपाए पनि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा सँगै कार्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ । (रासस/एपी)

प्रतिक्रिया