राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

admin

काठमाडौं, २६ चैत : कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ ।

राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, “हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोभिड-१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।” उनले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गरे ।

राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए। तर राष्ट्रसंघका अन्य निकायहरु जस्तै राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) का कार्यक्रमहरु द्वन्द्वग्रस्त मुलुकहरुमा यथावत रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डान सरकारसँग मिलेर शरणार्थीहरुलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरु कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोभिड–१९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्न काम गरिरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु रहेको जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले “विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०” सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताए । “विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जबकी विश्वमा अहिले ५९ लाख नर्सको कमी छ । नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।”

विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गर्दछु भनेका छन् ।

प्रतिक्रिया