राष्ट्रियसभाको दुई वर्ष : १७४ बैठक सम्पन्न, ६५ विधेयक पारित

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० फागुन : नेपालको संविधानको धारा ८६ को उपधारा (३) र राष्ट्रियसभा नियमावली (पहिलो संशोधन), २०७५ को नियम २०८ बमोजिम दुई वर्षे पदावधि कायम हुनुभएका एक तिहाइ सदस्य (१९जना) को आज पदावधि सकिएको छ ।



राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यकाल सकिएर बिदाइ हुन लाग्नुभएका सदस्यलाई सदन सञ्चालनका क्रममा पु¥याउनुभएको योगदानको लागि विशेष धन्यवाद दिनुभयो । साथै उहाँले यो दुई वर्र्षेे अवधिमा सबै सदस्यहरुको अथक मेहनत र प्रयासका कारण राष्ट्रियसभाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

संविधानसभाबाट जारी संविधानअनुसार राष्ट्रियसभाका सदस्यका लागि २०७४ माघ २४ गते निर्वाचन भएको थियो भने २०७४ फागुन २१ गते सङ्घीय संसद्को पहिलो अधिवेशन शुरु भएसँगै सभाले कार्य प्रारम्भ गरेको थियो । त्यसयता चारवटा अधिवेशन सम्पन्न भई हाल पाँचौं अधिवेशन चालु रहेको छ । आजसम्म राष्ट्रियसभाका १५२ दिनमा १७४ बैठक सम्पन्न भएको, सभाले २५३ घण्टा २० मिनेट समय व्यथित गरेको अध्यक्ष तिमिल्सिनाले बैठकमा जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “यो दुई वर्र्षेे अवधिमा ४१ वटा मूल र २४ वटा संशोधन गरी ६५ विधेयक पारित गरेको यस सभाले छ वटा अन्तर्राष्ट्रिय सन्धिसम्झौता अनुमोदन गरेको छ । यसबीचमा पारित भएका ७ वटा अध्यादेशलाई पनि सभाले विधेयकमार्फत प्रतिस्थापन गरेको छ ।”

राष्ट्रियसभामा नेपाल कम्प्युनिष्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी गरी चार दलको प्रतिनिधित्व रहेको छ । अधिवेशनको पहिलो दिन स्वागतार्थ र समापनका दिन सभाबाट भए गरेका कामका सम्बन्धमा सम्बन्धित दलका नेताबाट सम्बोधन गर्ने परम्परा सभामा स्थापित भएको छ । अरु विभिन्न समयमा पनि दलका नेताले समय लिएर बोल्नुहुन्छ ।

सभाले समसामयिक विभिन्न प्रस्तावमाथि छलफल गरी जनआवाज मुखरित गर्ने अभ्यास अघि बढाएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको पहिलो दुई वर्षे कार्यावधिमा विशेष प्रस्तावसहित सात वटा प्रस्तावमाथि छलफल भएको बताउनुभयो ।

प्राकृतिक प्रकोप र विपद्का बेला उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा सदनमा छलफल गरी सरकारलाई मार्गनिर्देशन दिने कार्य गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यलाई भावी सार्वजनिक र राजनीतिक जीवनमा सक्रियता र सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रियसभाको यो दुई वर्र्षेे अवधिमा सभाका कामकारवाहीमा सहयोग पु¥याउनु हुने उपाध्यक्ष, सम्पूर्ण सदस्य, प्रधानमन्त्रीलगायत मन्त्रीहरु, सङ्घीय संसदका महासचिव, राष्ट्रियसभाका सचिव, सचिवालय सचिवलगायत सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनुभयो ।

सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आठ सांसद कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली, हरिचरण शिवाकोट, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, डा युवराज खतिवडा, युटोल तामाङ र राजकुमार कुँवरको दुई वर्षे कार्यकाल आजदेखि समाप्त हँुदैछ ।

यसैगरी नेपाली काँग्रेसका सात जना सांसद धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना), स्व दुर्गाप्रसाद उपाध्याय तथा समाजवादी पार्टीका सांसद रामपृत पासवान, राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र रमेशप्रसाद यादवको दुई वर्षे कार्यकाल आजदेखि समाप्त हुँदैछ । कार्यकाल समाप्त हुन लागेका अधिकांश सदस्यले आजको बैठकमा कार्यकालभरिका आफ्ना अनुभव सुनाउनुभएको थियो ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्दिरा देवी गौतम, गोपिबहादुर सार्की आछामी, देवेन्द्र दाहाल, तुलसा कुमारी दाहाल, राधे श्याम पासवान, गङ्गाकुमारी बेलबासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायण काजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, माया प्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर तथा राष्ट्रिय जनता पार्टी नेपालका शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको चयन हुन भने बाँकी छ । नवनिर्वाचित सांसदको शपथ बुधबार फागुन २१ गते बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया