राष्ट्रियसभामा नाम मात्रैको प्रतिपक्ष

admin

काठमाडौं, १० माघ : राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ।

प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ। कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन्। अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वाचित भएका हुन्।

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन्। महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन्। अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएका छन्।

बागमती प्रदेशमा नेकपाबाट महिला समूहतर्फ गंंगाकुमारी बेल्वासे र अन्यतर्फ वेदुराम भुसालले जितेका छन्। गण्डकीमा महिला समूहतर्फ नेकपाकी भगवती न्यौपाने र अन्यतर्फ नेकपाकै नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन्।

प्रदेश ५ मा नेकपाकै गोपाल भट्टराई, विमला घिमिरे र जगप्रसाद शर्मा निर्वाचित भएका छन्। कर्णालीबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट नेकपाकै उम्मेदवार विजयी भएका छन्। महिला समूहतर्फ शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका हुन्।

नयाँ परिणामपछि ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना (सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जनासमेत) सांसद हुनेछन्। आफ्नो १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ। राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन्।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ। सरकारका कामकारबाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरीह’ बन्ने देखिन्छ।

नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री डा. युवराज खतिवडा)को कार्यकाल फागुन २० मा सकिन लागेको हो। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको छ। नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको छ। कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका÷नगरपालिकाका) का प्रमुख र उपप्रमुखले मतदान गरेका थिए। ७ सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद मतदाता थिए।

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदले दिने मतको भार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेश सांसदको मतको भार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ।

राष्ट्रियसभा निर्वाचन प्रणाली एकल संक्रमणीय हो। यसपटक भने प्रत्येक प्रदेशबाट (क्लस्टर)मा एक÷एक जना मात्र निर्वाचित हुने हुँदा प्रत्यक्षजस्तै भएको छ। राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले सांसद निर्वाचित हुन्छन्।

तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलो पटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एकतिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेको कार्यकाल ६ वर्षकै हुनेछ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया