राष्ट्रिय खेलकूद विकास विधेयक पारित

राष्ट्रिय समाचार समिति

काठमाडौं, २१ फागुन : प्रतिनिधिसभाको बुधबारको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गरेका थिए । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते सोमबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको थियो । नेपाली कांग्रेसका सांसद पार्वती डिसी चौधरीले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गर्नु भए पनि निर्णयार्थ पेश हुन सकेको थिएन ।

यस्तै, बुधबारको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सो प्रस्ताव प्रस्तुत गरेका थिए। सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।

प्रतिक्रिया