राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारदेखि चरा गणना गरिने

admin

चितवन, २४ पुस : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारदेखि चरा गणना गरिने भएको छ । चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीकाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ ।

बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उनले जानकारी दिए । बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ ।

यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने बिडारीको भनाइ छ । छ दिनभित्र गणना सम्पन्न गर्ने तयारी गरिएको छ । गएको वर्ष चितवनमा ६४१ प्रजातिका चरा भेटिएको थियो ।

तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ । उनकाअनुसार एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदै छ । डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ । गणनामा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ ।

चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ । यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीकाअनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ ।

प्रतिक्रिया