रासस सदैव अगाडि रहनुपर्छ : मन्त्री कार्की

रिता घिसिंग

विराटनगर, ७ फागुन (रासस) : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमका रुपमा राष्ट्रिय समाचार समिति सदैव अगाडि रहनु पर्ने बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिको(रासस) ५८औं वार्षिकोत्सवको अवसरमा आयोजित “सङ्घीय संरचनामा राससको भूमिका” तथा पुरस्कार वितरण समारोहलाई आज यहाँ उद्घाटन गर्दै उहाँले राससले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरिरहेकाले यसको साख र भविष्य उज्ज्वल रहेको छ भन्नुभयो । 

 

सो अवसरमा मन्त्री कार्कीले उत्कृष्ट समाचारदाता मोरङ उर्लावारी जिल्ला प्रतिनिधि सुमन घिमिरे, उत्कृष्ट तस्वीर ताप्लेजुङ जिल्ला समाचारदाता सन्तोषकुमार सार्की र उत्कृष्ट आलेख समाचारदाता रवीन्द्र काफ्लेलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्नुभयो । 

 

उहाँले राससलाई समय सापेक्ष बनाउन प्र्रदेशस्तरका कार्यालय प्रदेश सरकारका मातहतमा आएमा यस्को भौतिक संरचना र अन्य कार्य गर्न सरकारले सहयोग गर्ने बताउनु भयो । 

उहाँले ६ दशक अगाडि राष्ट्रिय समाचार समिति जुन सोचले स्थापना भएको थियो त्यो अहिले सार्थक भएको छ भन्दै यसलाई अझ व्यावसायिक बनाउनुपर्ने सुझाव दिनुभयो । 

 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रासस राष्ट्र र जनताका लागि समाचार सम्प्रेषण गरेर सहयोग गरिरहेको उल्लेख गर्नुभयो । 

 

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका उपाध्यक्ष इन्दिरा भट्टराई र महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले राससका समाचारप्रति अहिले पनि सञ्चारमाध्यम निर्भर रहने गरेको चर्चा गर्नुभयो । 

 

सेवाग्राहीको तर्फबाट उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले सञ्चार माध्यमको विकास र विस्तार नभएको समयमा राससले नै देश र जनतालाई सुसूचित गरेको स्मरण गराउनुभयो । 

 

विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले राससलाई भौतिक संरचना सुधार गर्नमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कृतको तर्फबाट पाँचथरका जिल्ला समाचारदाता रवीन्द्र काफ्लेले समाचार सम्प्रेषण गरेर पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

 

रासस प्रदेश प्रमुख मोहम्मद सदरुलले राससले “विकासका लागि सञ्चार” भन्ने मूलमन्त्रलाई सार्थक बनाउनेतर्फ रासस दिनरात नभनी लागि रहेको बताउनुभयो । सो अवसरमा मन्त्री कार्कीले रासस प्राङ्गणमा धूपीको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।(फोटो उपलव्ध छ ।) 

 

प्रतिक्रिया