रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

admin

काठमाडौं:शुक्रबार अर्थात् १६ फागुनमा प्रदर्शन हुन लागेको ‘धुलो’ फिल्मले प्रचारप्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरि लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मानपत्रसहित सम्मान गर्यो ।

सम्मानीत हुनेमा बिगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउदै आएका बलबहादुर श्रेष्ठ छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिति बरिष्ट चलचित्रकर्मी नीर शाह, बिशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए । करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकीत ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मज्दुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको ब्यबस्था मिलाइएको घोषणा गरियो ।

कार्यक्रममा ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रसंसा गरेका थिए । कार्यक्रमपछि ‘धुलो’मा बिशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ,निर्देशक मिश्र,चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनीटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो ।

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मज्दुरको वास्तबिक कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए । कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मज्दुर र मज्दुरीको सम्मान गरेकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने बिश्वास ब्यक्त गरे । अभिनेता तामाङले आफू ‘धुलो’ मा बास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउदै दर्शकको प्रिय बन्ने आशा ब्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन । लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्मको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको फिल्म १६ फागुनमा एकल प्रदर्शनमा उत्रदैछ ।

प्रतिक्रिया