रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

रिता घिसिंग

रुकुम (पश्चिम), ५ जेठ : रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण गर्न लागेको हो ।

नमूनाका रूपमा जिल्लाका १२ विद्यालयका कक्षा १ र २ मा अध्यनरत छ/सात वर्ष उमेरका ३८७ बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिने महाशाखाले जनाएको छ । जिल्लामा जेठ आजदेखि सर्वेक्षण शुरु हुने सर्वेक्षण कार्यक्रमका सुपरभाइजर सञ्जयबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वेक्षणमा तीन समूह परिचालन हुने र करीब २० दिनमा सक्ने लक्ष्य राखिएको छ । हात्तीपाइले निवारणका लागि जिल्लामा यसअघि छ चरणसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । विसं २०६७ देखि २०७२ सम्म प्रत्येक वर्ष एकपटक गरी छ चरणमा औषधि खुवाइएको हो । छ चरणको औषधि खुवाइसकेपछि जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन सर्वेक्षण हुनलागेको चन्दले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले छनोट गरेका प्रत्येक स्थानीय तहका दुई/दुई गरी १२ विद्यालयमा नमूनाका रूपमा सर्वेक्षण हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार चौरजहारी नगरपालिका–१३ रातामाटाको जनकल्याण आधारभूत विद्यालयका ३६, चौरजहारीकै वडा नं १२ को जनकल्याण मावि सानाखोलोका ४२, त्रिवेणी गाउँपालिका–७ को बालबोध आधारभूत विद्यालय भुर्तिबाङका १४ र त्रिवेणी–१ को सिस्नेजनता आधारभूत विद्यालय बल्लेका २४ विद्यार्थीमा हात्तीपाइलेको परीक्षण गरिनेछ ।

त्यस्तै मुसीकोट नगरपालिका–६ को जनचेतना आधारभूत विद्यालय डाँडीगाउँका १६, मुसीकोट–१३ को प्रभात मावि दोपाइका ३२, सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय फुक्रुका २२ र सानीभेरी–५ को जनज्योति मावि मेलचौरका ५४ विद्यार्थीमा पनि हात्तीपाइलेको परीक्षण गरिनेछ ।

बाँफिकोट गाउँपालिका–१० को महेन्द्र आधारभूत विद्यालय पुरानोठाँटीमा अध्यनरत १९, बाँफिकोट–१ को आधारभूत विद्यालय लागिममा अध्यनरत ८६, आठबीसकोट नगरपालिका–१४ को आदर्श मावि घेत्मामा अध्यनरत २७ र आठबीसकोट–६ को मालिका भगवती आधारभूत विद्यालयमा अध्यनरत १५ विद्यार्थीमा समेत हात्तीपाइलेको सङ्क्रमण भए/नभएका बारेमा जाँच हुने सुपरभाइजर चन्दले जानकारी दिनुभयो ।

“विद्यार्थीको रगत निकालेर यस रोगको परीक्षण गरिनेछ”, उहाँले भन्नुभयो, “विद्यार्थीमा यस रोगको सङ्क्रमण भेटिएमा उपचारका लागि अस्पताल जान सुझाव दिइनेछ ।” रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान र रोल्पालाई एउटा युनिट मानेर हात्तीपाइलेको सर्वेक्षण गर्न लागिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न नेपालले पनि विभिन्न गतिविधि गरिहेको छ । त्यसैअनुसार देशमै हात्तीपाइले रोगको अवस्था के छ र यसका लागि आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर योजना निर्माण गर्न छ चरणमा हात्तीपाइलेको औषधि खुवाइसकिएका जिल्लामा यस्तो सर्वेक्षण गर्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।रासस

प्रतिक्रिया