रेलमार्ग नेपाललाई हस्तान्तरण

admin

काठमाडौं : जयनगर–कुर्था (जनकपुर) को विस्तारित रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ। भारतले सन् २०१४ बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे। भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेसनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो।

३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो। प्राविधिक कारण देखाउँदै पन्छिएको सरकारले २०७५ को पुसबाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो।

कुर्था–जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३ सय ८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ। अहिले कुर्थादेखि बिजलपुरासम्म दुई सय करोड खर्चेर बाँकी खण्डको काम भारतले नै गर्दैछ। जयनगर–कुर्था रेलमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन। रेल सञ्चालनमा लागि अहिले नेपालसँग कानुन नै छैन। यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच सञ्चालन प्रक्रियामा हस्ताक्षर भएको छ।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको छ। भारत सरकारको आर्थिक सहयोग अन्तर्गत नेरु. ८.७७ अर्ब रुपैयाँमा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो।

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रूपमा रहेको थियो। जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेसन र साना स्टेसन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महŒवको सहर पनि सामेल छ।

सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थासहित प्रोसिड्योरको मस्यौदा तयार भएको थियो। अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्रलगायतका पूर्वाधारहरू आवश्यक पर्छ। तर, जनकपुर–जयनगर रेलमार्गमा यस्ता पूर्वाधारहरू तयार भएका छैनन्। प्रोसिड्योरमा क्रमैसँग यस्ता आवश्यक पूर्वाधार राख्दै रेल चलाउने व्यवस्था गरिएको छ।

भन्सार पूर्वाधार नेपालको इनरुवा स्टेसनमा राख्ने सहमति भएको छ। रेलमार्ग भएर तेस्रो देशका नागरिक बिनाभिसा आवतजावत हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न गर्नुपर्ने व्यवस्थाबारे पनि उल्लेख छ। यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।

प्रतिक्रिया