लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि अनलाइन कक्षा सञ्चालन गर्दै विद्यालय

admin

चितवन, २८ चैत : सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २२४ विद्यालयका ११ हजार २५४ रहेका छन् ।

विद्यार्थी र शिक्षकको समय मिलाएर हरेक दिन कुनै एक समयमा अनलाइन कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए । एक दिन एउटा विषयको पढाइ हुने गरेको सुवेदीले बताए ।

उनले भने, “कडाउनको समयमा विद्यार्थी घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका हुन ।” अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ ।

अझै पनि केही विद्यार्थी सो एपभन्दा बाहिर रहेका कारण उनीहरुलाई पनि सम्पर्कमा ल्याउन खोजिएको उनले जानकारी दिए ।

लकडाउनको समयभर विद्यार्थीलाई शिक्षकले फोनमार्फत निगरानी गरिरहेको उहाँको भनाइ छ । उनले भने, “इन्टरनेटको सुविधा भएका स्थानमा अनलाइन कक्षा सञ्चालन गरिएको छ भने अन्य स्थानमा मोबाइलबाट निगरानी गरिएकोछ ।”

विद्यार्थी परीक्षाको तयारीबाट बिचलित नहुन भनेर विद्यालयले शिक्षकलाई यसको जिम्मेवारी दिएको सुवेदीले बताए । लकडाउनको समयमा विद्यार्थीले पढेनपढेको बुझ्नका लागि अभिभावकसँग पनि नियमित सम्पर्क बढाउन लगाइएको छ ।

प्रतिक्रिया