लकडाउन : दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

admin

सप्तरी, १८ चैत : नेपाल-भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका-३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।

कोभिड-१९ संक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए ।

आदेशविपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल- ३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकास्थित दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हबल्दार चौधरीले कुटपिट गरेका थिए ।

लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानबिन शुुरु गरेको छ ।

प्रतिक्रिया