लगातारको झरी पर्न कम, शनिबारदेखि मौसममा सुधार हुने

admin

काठमाडौं, ११ भाद्र : केही दिन अगाडिदेखि सक्रिय रहेको मनसुन (भोलि) शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा शुक्रबार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना कायमै रहनेछ ।

अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

देशका धेरैजसो भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै शुक्रबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया